काठमण्डौ । पूँजीबजारसँग सम्बन्धित नियमनकारी निकायहरुमा समेत कोरोना भाइरसको संक्रमण बढेपछि घरैबाट काम गर्ने(वर्क फ्रम होम)को व्यवस्था गरिएको छ । 

कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयमा नै उपस्थित भई कार्य गर्दा कोरोना जोखिम बढ्ने खतरालाई मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आधा कर्मचारीलाई घरबाटै काम गर्न पाउने व्यवस्था गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डमा कार्यरत ५ अधिकारीहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि २ जना संक्रमणमुक्त भइसकेका र बाँकी ३ जना होम आइसोलेसनमा बसिरहेका बोर्डका प्रवक्ता निरज गिरीले बताए । बोर्डका उच्च अधिकारीहरु कार्यालय प्राय आउने र तल्ला तहका कर्मचारीहरु भने दिन बिराएर कार्यालयमा हाजिर भई नियमित कार्यसञ्चालनमा सहभागी हुने प्रबन्ध मिलाइएको उनले बताए । 

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सेयर बजार प्रभावित नबनोस् र अत्यावश्यकीय काम मात्र गर्न कार्यालयमा आधा कर्मचारीहरुबाट कामकारवाही भइरहेको छ । नेप्सेमा हालसम्म ५ जना कर्मचारी कोरोना भाइरस संक्रमणमा परेका उल्लेख गर्र्दै जरुरी कामका लागि मात्र कार्यालय जाने र अन्य कामहरु भने घरबाटै गर्ने व्यवस्था मिलाइएको बताए । 

यता सीडीएस एण्ड क्लियरिङ लिमिटेडको पुतलीसडकस्थित कार्यालयमा पनि आधा कर्मचारी कार्यालयबाट र आधा जति चाहिँ घरबाटै काम गर्ने प्रबन्ध मिलाइएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् । सीडीएससीमा पनि हालसम्म ४ जना कोरोनाभाइरसबाट संक्रमित भइसकेको बताउँदै उनले नियमित कामकारवाही यथावत गर्न र महामारीको जोखिमबाट कार्यालय प्रभावित नहोस् भन्ने हेतूले वर्क फ्रम होमको व्यवस्था मिलाइएको सुनाए ।