काठमाण्डौ । पूँजीबजारको नियामक धितोपत्र बोर्डले दोश्रो बजारमा अबाञ्छित गतिविधि भइरहेको दाबी गरेको छ । 

बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पछिल्लो समेत दोश्रो बजारमा अबाञ्छित गतिविधि भइरहेका र यसरी हुने कारोबारलाई कानूनको दायरामा ल्याइने समेत दाबी गरे । 

उनले सो क्रममा धितोपत्र बोर्डका आगामी प्राथमिकताहरु पेश गर्दै संस्थागत रुपमा धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने घोषणा गरेका छन् । उनको संकेत बैंकहरुका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको लाइसेन्स दिने विषयमा केन्द्रीत थियो । 

लगानीकर्ताले विगत लामो समयदेखि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग गर्दै आएका छन् । बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयलाई आगामी प्राथमिकतामा राखेपछि यसले बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 

यस्तै, बोर्डले आगामी दिनमा कारोबार व्यवस्थापन प्रणाललाई प्रभावकारी बनाउने, सरकारी ऋणपत्रको बजारलाई गतिशील बनाउने, कारोबार प्रणालीमा देखिएको उच्च प्राविधिक जोखिमलाई न्यून पार्ने, प्राथमिक बजारको पूँजी परिचालनमा समेत उच्च वृद्धि भएको अवस्थामा बजारको विश्वसनीयता वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताएको छ । 

बोर्डका अध्यक्ष ढुंगानाले स्टक एक्सचेञ्जलाई समेत प्रतिस्पर्धी बनाउने भन्दै नयाँ स्टक एक्सचेञ्ज समेत स्थापना हुनसक्ने संकेत गरेका छन् ।  

उनले आगामी दिनमा नेप्से र सिडिएससीको संरचनात्मक सुधार गरिने र क्षमता वृद्धिमा समेत ध्यान दिइने बताए । यस्तै, नेप्से परिसूचकको गणनाविधिलाई यथार्थपरक बनाउने र वस्तु विनिमय बजार पनि संचालनमा ल्याइने जानकारी दिए । 

यस्तै, पूँजीबजारलाई प्रविधिसँग जोड्ने विषय पनि आफूहरुको प्राथमिकतामा पर्ने उनले जानकारी दिए । 

उनले भनेका छन्-'यी सबै काम गर्न सक्यौं भने केही वर्षमै हाम्रो पूँजीबजार नयाँ युगमा प्रवेश गर्छ । यसप्रति हामी दृढ संकल्पित छौं ।'