काठमाण्डौ । एक महिनाको अवधिमा नेपालको सेयर बजारको आकार २२.११ प्रतिशतले बढेको छ ।

बजार बुलिस गतिमा कुदेर कारोबार रकमले दैनिकजसो रेकर्ड बनाइरहँदा कुल बजार पूँजीकरणमा पनि उछालकै अवस्था देखिएको हो । 

यो अवधिमा नेप्सेको कुल बजार पूँजीकरण ४ खर्ब ५६ अर्बले बढेको देखिएको छ । 

नोभेम्बर १ मा कायम बजार पूँजीकरणसँग डिसेम्बर १ अर्थात आजको बजार पूँजीकरणको तुलना गर्दा २२.११ प्रतिशतले वृद्धि भएको देखिएको हो । 

मंगलबारको बजार पूँजीकरण हालसम्मकै उच्च हो । यो दिन २६ खर्ब ८१ अर्ब बढीको कुल बजार पूँजीकरण कायम भएको छ । सोमबार २६ खर्ब ७६ अर्बको कुल बजार पूँजीकरण कायम भएको थियो । 

एक महिनाअघि अर्थात नोभेम्बर १ मा नेप्सेको कुल बजार पूँजीकरण २१ खर्ब ९५ अर्ब ४४ करोड रहेको थियो । 

यसरी दैनिकजसो बजार पूँजीकरणले समेत नयाँ नयाँ आकार बनाउँदै लगेको छ । 

दैनिक कारोबार ७ अर्बभन्दा बढी र करिब १० अर्ब नजिक पुगिसकेका कारण समेत बजारको समग्र आकारमा दैनिकजसो बढोत्तरी भइरहेको हो । 

नेप्से परिसूचक आज २ हजार माथिको कीर्तिमानी उचाईमा पुग्दा बजार पूँजीकरणले पनि हालसम्मकै सर्वाधिक उचाई चुमेको छ । बजारमा सामान्य अंकको उतारचढाव हुँदा पनि कारोबार रकम उच्च भएका कारण आगामी दिनमा बजारको आकार अझै बढ्ने देखिन्छ । 

नोभेम्बर १ देखि आजसम्मको बजार पूँजीकरणको अवस्था के थियो त ? हेर्नुहोस् यो सूची: