– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलले बजारको वस्तुस्थिति बुझेरमात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन्। 

बिजशालासँगको कुराकानीमा पूर्वगभर्नर रावलले बजारको वस्तुस्थितिका बारेमा अनुगमन गरेरमात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन्। ‘ब्याजदर, अतिसमस्यामा परेका उद्योगधन्दा, उद्यमी, व्यापारी, कृषकलाई सहयोग पुग्ने खालको नीति राष्ट्र बैंकले मौद्रिक नीतिका समेट्नुपर्ने आवश्यक छ’, उनले भने, ‘अहिले बजारको अवस्था दयनीय छ, त्यसैले राष्ट्र बैंकले बजारको अनुगमन गरी मौद्रिक नीति ल्याउन आवश्यक छ।’ 

पूर्वगर्भनर रावलले यो वर्षको मौद्रिक नीति विगतका वर्षहरुमा आएको जस्तो लचिलो र खुकुलो नआउने पनि बताए। आन्तरिक र बाह्य कारणले मुद्रास्फीतिको दर उच्च ८ प्रतिशत रहेको र सो दर अझै बढ्ने सम्भावना रहेको उनले दाबी गरे। ‘त्यसैले लचिलो र खुकुलो मौद्रिक नीति आउँदैन होला’, उनले भने। 

महँगी बढ्दा जनताको जनजीवन झनै कष्टकर हुने रावलको भनाइ छ। ‘कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन। नेपालको अर्थतन्त्र तहसनहस भएको छ’, उनले भने, ‘रुस र युक्रेन युद्धले पनि नेपाललाई अप्ठ्यारोमा पारिरहेको छ। यी दुवै मुलुक अन्नका ठूला आपूर्तिकर्ता हुन्।’

प्रतिबन्धका कारण रुसको इन्धन रोकिएपछि त्यसको असर नेपाली जनजीवनमा पनि देखिनुका साथै अचाक्ली महँगी बढेको रावलको तर्क छ। 

तरलता, बैंकको ब्याजदरलगायत यस्ता सबै समस्यालाई मध्यनजर गर्दै राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन रावलको सुझाव छ।

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव माग्ने कार्यको सुरुआत गरिसकेको छ। केही दिनभित्रै राष्ट्र बैंकले सम्बन्धित निकाय र व्यक्तिहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ। बढ्दो महँगी, बढ्दो ब्याजदर, बैंकमा लगानीयोग्य रकम नहुनुलगायत समस्या हुँदा राष्ट्र बैंकको मौद्रिक नीतिले थोरै मात्रामा भए पनि समस्याको समाधान गर्ने आशामा उद्योगी–व्यवसायी छन्।