काठमाण्डौ । सेयर बजारको मंगलबार गतिलो बाउन्स ब्याक भएको छ। 

बजार आज ७६.६४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१७७.३४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १२.८५ अंकले बढेर ४१५.०१ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट सकारात्मक खबर आउने कुराले बजार बढेको बताउँछन्। ‘त्यो त बजार केही दिनदेखि घट्न मानेको थिएन’, उनले भने, ‘अहिले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बजारमैत्री व्यवस्थाहरु आउने खबरले बजार बढेको हो।’

मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितो कर्जामा लागेको १२ करोडको सीमा हट्न सक्ने खबर बजारमा फैलिएको बिष्ट बताउँछन्। ‘यदि मौद्रिक नीतिको समीक्षामार्फत यो व्यवस्था हटेमा फागुनभरिमा बजार २५०० सम्म पुग्न सक्छ’, उनले भने।

अर्को कुरा भनेको राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको ६ महिनाको तथ्यांकले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको संकेत गर्नुले पनि बजार बढेको बिष्ट बताउँछन्। 

अर्का बजार जानकार महेश रिजाल पनि बजार २ वटा कारणले बढेको बताउँछन्। ‘मौद्रिक नीतिको समीक्षामार्फत संस्थागत लगानीकर्तालाई १२ करोडको सीमा हट्न सक्ने खबर बजारमा व्यापक फैलिएको छ’, उनले भने, ‘अर्को भनेको फागुनमा ब्याजदर फेरि घट्न सक्ने खबर पनि फैलिएको छ। यिनै कारण स्मार्ट र बिग मनी आज बजार पसेको हुन सक्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन लगानी समूह सर्वाधिक ६.२५ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ५.९४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.३५ प्रतिशत, विकास बैंक समूहमा ५.०७ प्रतिशत होटेल तथा पर्यटन समूहमा ३ प्रतिशत, जलविद्युत समूहमा ५.३१ प्रतिशत, जीवन बीमा समूहमा ४.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.३५ प्रतिशत, लघुवित्त समूहमा ३.२१ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.२४ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.३६ प्रतिशत, अन्य समूहमा २.९४ प्रतिशत र व्यापार समूहमा ४.१२ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६० कम्पनीका ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन एनआईसी एसिया बैंकको सर्वाधिक १२ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ङादी ग्रुप पावरको ११ करोड ३ लाख रुपैयाँबराबरको कारोबार हुँदा अपी पावरको ९ करोड ३९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ६४ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ४१ लाख रुपैयाँ, युनिभर्सल पावरको ५ करोड ७८ लाख रुपैयाँ, अपर तामाकोशीको ५ करोड ३८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ५ करोड ३४ लाख रुपैयाँ र एचआईडीसीएलको ५ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीहरुमा पोजिटिभ सर्किट लागेको छ। बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत र आदर्श लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा रिडी पावर, ग्रीन भेन्चर्स र ङादी ग्रुप वारको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन किसान लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशतले बढी उकालो लागेको छ। 

यो दिन कुनै पनि सेयरमूल्यमा गिरावट आएन भने महुली लघुवित्तको सेयरभाउ स्थिर रह्यो।