काठमाण्डौ । पेट्रोल, डिजेल, सीएनजी र बिजुलीपछि उड्ने कार बजारमा आएको छ। अहिलेसम्म हामीले यस्ता कारको कथा सुनेका थियौँ। कुनै चलचित्र वा कार्टुनमा पनि हेरेका थियौँ। तर, अहिले यथार्थमै बजारमा उड्ने कार आएको छ। 

फ्लाइङ कार अर्थात उड्ने कार अब किन्न सकिन्छ। फ्लाइङ कार भनेको यस्तो गाडी हो, जसलाई सडकमा चलाउन सकिन्छ र आकाशमा पनि उडाउन सकिन्छ। 

अमेरिकी बजारमा ‘स्विचब्लेड’ पहिलो उडान कार किन्न सकिन्छ। यो कारको करिब २ हजार युनिट बुकिङ भइसकेको छ। सामसन स्काईले १४ वर्ष लगाएर यो कार बनाउन सफल भएको हो। 

डिजाइन, आर एन्ड डी र कोष जुटाउन वर्षौंको कामपछि सामसन स्काइृको पहिलो उडान कारले उच्च गतिको ट्याक्सी परीक्षण पूरा गरेको छ। यो कारलाई ८७ माइल प्रतिघन्टाको गतिमा उडाउनुका साथै ब्रेक टेस्टिङ पनि गरिएको छ।

उडान कारलाई वास्तविकतामा परिणत गर्नु धेरै रोमाञ्चक छ। तर यो यस्तो सपना हो, जुन पूरा भएर पनि अधुरो छ। यसलाई प्रयोग गर्न रनवे चाहिन्छ। अर्थात्, कानुनी रुपमा ग्राहक कुनै पनि उडानको प्रोटोकल पालना गरेरमात्र उडान गर्न सक्षम हुनेछन्। यसको मतलब यो पनि हो कि कारको टेक अफ र टेक डाउन स्थान हवाईजहाजको जस्तै हुनेछ।

कहाँ उडाउन सकिन्छ यो कार ? 

यो प्रश्न धेरैको मनमा उठिरहेको हुनुपर्छ। कम्पनी भन्छ, ‘तपाइँ जहाँ चाहनुहुन्छ उड्न सक्नुहुन्छ।’ तर, वास्तविकता यो होइन। हाल अमेरिकामा निजी उडान ट्याक्सीका लागि विशेष सुविधा विकास गरिएको छैन। यसबाहेक कार मालिकहरुले एयरपोर्टहरुमा उनीहरुको स्लट कसरी बुक गर्ने भन्नेबारे जानकारी पनि अझै थाहा छैन।

आफैँ बनाउनुपर्छ कार ? 

स्विचब्लेड आकाशका लागि प्रयोगात्मक गृहनिर्मित विमानका रुपमा दर्ता गरिएको छ। जब कि सडकमा यसलाई अनुकूलन मोटरसाइकल वा किट कारका रूपमा दर्ता गरिएको छ। तसर्थ, यो कार किन्नेहरुले आफैँ बनाउनुपर्नेछ।

यो कार तयार गर्न सर्वसाधारणलाई दुई हजार घन्टा लाग्ने कम्पनीले जनाएको छ। वा ग्राहकले सामसन बिल्डर सहायता केन्द्रको मद्दत लिन सक्छन्। जहाँ कम्पनीले एक साता लाग्ने दाबी गरेको छ।

लाइसेन्स पनि चाहिन्छ ?

यो प्रश्न पनि मनमा आउन सक्छ। किनकि धेरैजसो व्यक्तिसँग कार चलाउने अनुमतिपत्र हुनेछ। तर, यसलाई चलाउनका लागि कार र उड्डयन लाइसेन्स दुवै चाहिन्छ। कम्पनीले आफ्नो कार बुक गर्ने २० प्रतिशत ननपाइलट रहेको जनाएको छ। 

मूल्य कति पर्छ ?

अब कारको मूल्यको कुरा गरौँ। एक करोड वा दुई करोडको गाडी सुन्नु सामान्य लाग्न सक्छ। यसको मूल्य पनि उस्तै छ। यसका लागि १.७ लाख डलर खर्च गर्नुपर्ने हुन्छ। यद्यपि यो अनुमानित मूल्यमात्र हो। –एजेन्सी