काठमाण्डौ । ‘बुलिस ट्रेण्ड’मा कुदेको बजार मंगलबार फेरि हराभरा भएको छ । यो दिन कारोबार खुलेलगत्तै दोहोरो अंकले घटेको बजार एकघण्टापछि भने क्रमशः सुधार हुन थालेको थियो । करेक्सनपछि अत्तालिएका लगानीकर्तालाई सरप्राइज दिंदै उकालो यात्रामा दौडिएको बजार ४३.०२ अंकले उकालो लागी १५४५.१९ को विन्दूमा पुगेर बन्द भयो । 

यो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम केही कम भएको छ । करिब ३ अर्बको सेयर कारोबार भएको यो दिन एकदर्जन बढी कम्पनीका लगानीकर्ताको सम्पत्ति ह्वात्तै बढ्यो । अन्य दर्जनौ कम्पनीका लगानीकर्ताले कुस्त कमाए । 

बजार विकास र वृद्धिका लागि चौतर्फी सकारात्मक माहौल बन्दै गएपछि यो साताको पहिलो कारोबार दिनदेखि नै बजार परिसूचक र कारोबार रकममा उछाल आइरहेको छ । यसैको निरन्तरता मंगलबार पनि भयो । 

अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन, घट्दै गएको बैंक ब्याजदर, मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट बजारका लागि सरप्राइज प्याकेज आउने विश्वास, तरलताको सहज अवस्था, बजार सुधारका लागि धितोपत्र बोर्डले गरेको प्रयास, नेप्सेको अनलाइन प्रणालीप्रति बढ्दो सहभागिता लगायतका कारण बजार दिनप्रतिदिन नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढेको हो । 

बजारको तीव्र बढोत्तरी र कारोबार रकमको साथले बढोत्तरीको यो यात्रा अझै माथिसम्म पुग्ने देखिने विश्लेषकहरु दाबी गर्छन् । 

बजारको फ्रन्ट लाइन रेगुलेटर नेप्सेका जिम्मेवार अधिकारीहरुले विभिन्न औपचारिक र अनौपचारिक फोरमहरुमा नेप्से चाँडै २००० को विन्दूमा पुग्छ भन्ने विश्लेषण गरिरहेका स्रोतहरु बताउँछन् । यस्ता विश्लेषण ब्रोकर र लगानीकर्तामार्फत बजारमा चुहिँदा समेत यसले सकारात्मक माहौल बनाएको हो । 

यसैगरी, पछिल्लो समय बजारमा चीनबाट आयातको व्यापार गर्ने व्यापारीहरुको पैसा समेत आउन थालेको बताइएको छ । कोरोना भाइरसको प्रभावले चीनबाट हुने आयात व्यापार प्रभावित भएपछि त्यहाँ लगानी गर्ने व्यापारीले दिल खोलेरै सेयरमा पैसा खन्याइरहेका छन् । 

यही बेला विदेशमा बस्ने नेपालीहरुले समेत लगानी बढाएका छन् । ठूला र संस्थागत लगानीकर्ताहरु समेत आक्रामक रुपमा सेयर खरीदारीमा लागेका छन् । यी सबै कारणले बजारमा बहार र उत्सवको वातावरण बनेको छ । 

उत्सवमय बजारमा राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण मंगलबार सेन्सेटिभ इण्डेक्स ८.५७ प्रतिशतले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.५७ अंकको बढोत्तरी भयो । 

जीवन बिमा समूह, अन्य समूह, व्यापार, जलविद्युत र निर्जीवन बिमा समूहमा उछालको अवस्था देखियो । जीवन बिमा समूह यो दिन  ६७३.४९ अंकले बढ्यो भने निर्जीवन बिमा समूहमा ३०७.०९ अंकको बढोत्तरी भयो । अन्य समूह ५१.०३ अंकले बढेको यो दिन जलविद्युत समूहमा ४६.५१ अंकको उछाल आयो । 

बैंकिङ समूह १२.८९ अंकले बढेको यो दिन व्यापार समूहमा ४७.०९, होटल समूहमा ११.२२ अंक, विकास बैंक समूहमा ४४.४९ अंक, बित्त समूहमा १९.४२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ११८.४२ अंक, माइक्रो फाइनान्स समूहमा ८३.४४ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८० कम्पनीका ७० लाख ५९ हजार ७१२ कित्ता सेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी हिमालयन डिस्टीलरीले १६ करोड ३३ लाख बढीको कारोबार गर्यो । 

नेपाल लाइफ इन्स्योरेन्सले १४ करोड ३६ लाख बढीको कारोबार गरेको यो दिन शिखर इन्स्योरेन्सले १० करोड ६५ लाख, नेको इन्स्योरेन्सले ९ करोड ४२ लाख, एनएमबी बैंकले ९ करोड ३५ लाख, एनआइसी एशिया बैंकले ९ करोड ७ लाख, नागरिक लगानीकोषले ८ करोड ६ लाख, गुराँस लाइफ इन्स्योरेन्सले ७ करोड ८५ लाख, नेपाल इन्स्योरेन्सले ७ करोड ४६ लाख र शिवम सिमेन्टले ६ करोड ३४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा ११ कम्पनीको सेयरमूल्य बढेर पोजिटिभ सर्किट लाग्यो । 

गुराँस लाइफ इन्स्योरेन्स, स्वदेशी लघुवित्त, हिमालयन डिस्टीलरीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । 

युनिलिभर नेपाल लिमीटेड, शिखर इन्स्योरेन्स, एलआइसी नेपाल, नेशनल हाइड्रोपावर कम्पनी, अरुणभ्याली हाइड्रोपावर कम्पनी, अपी पावर कम्पनी, रादी विद्युत कम्पनी र मञ्जुश्री फाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

मितेरी डेभलपमेन्ट बैंक र एचआइडिसिएलको मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

यो दिन दिव्यश्वरी हाइड्रोपावरको मूल्यमा सबैभन्दा धेरै गिरावट भयो । यो कम्पनीको सेयरमूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।