काठमाण्डौ । देशको सेयर बजारमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन कायम तीनवटै कीर्तिमानको रेकर्ड ब्रेक गर्दै साताको अन्तिम कारोबार दिन बिहीबार नयाँ रेकर्ड बनेको हो । 

यो दिन हालसम्मकै सर्वाधिक कारोबार रकम, सर्वाधिक कारोबार संख्या र सर्वाधिक सेयर संख्याको किनबेचको कीर्तिमान कायम भएको हो । 

नेप्से परिसूचक ३६.०५ को उछालको गतिमा दौडिएर १६३२.१७ को विन्दूमा पुगेको यो दिन हालसम्मकै सर्वाधिक ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २५१ रुपैयाँ बराबरको कारोबार भयो । नेपालको इतिहासमै एकैदिन यति ठूलो रकमको सेयर किनबेच भएको थिएन । 

यो दिन हालसम्मकै सर्वाधिक ३५ हजार ४६७ वटा कारोबारको अर्को कीर्तिमान समेत बनेको छ । यस्तै, नेपालको इतिहासमै पहिलोपटक बिहीबार बजारमा १ करोड बढी कित्ता सेयर किनबेच भयो । यो दिन १ करोड ८ लाख ५९ हजार ६५६ कित्ता सेयरको किनबेच भएको हो । 

बुधबार दिनभरिको केही नाटकीय राजनीतिक घटनाक्रमहरुलाई लिएर धेरैले बिहीबार बजारमा तीव्र करेक्सन हुने अनुमान लगाएका थिए । तर, ती अनुमान गलत सावित भए । यो दिन लगानीकर्ताहरुले वाणिज्य बैंक र विकास बैंकको सेयर खरीदारीमा मात्रै ध्यान दिएका कारण यी दुवै समूहको योगदानले बजारलाई उच्च अंकको वृद्धि हुनबाट कसैले रोकेन । 

बुधबार पहिलो प्रहरमा अर्थमन्त्रीबाट डा. युवराज खतिवडा हट्ने खबरले बजारमा उछाल आएको दाबी गरियो । तर, कारोबार समय सकिएपछि फेरि प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यमा अर्थमन्त्री खतिवडालाई नै निरन्तर गर्ने अभिव्यक्ति दिए । यो अभिव्यक्तिपछि अर्थमन्त्रीको रुपमा डा. खतिवडाले नै निरन्तरता पाउने चर्चाले बिहीबारको बजार घट्ने धेरैले अनुमान गरेका थिए । तर, पछिल्लो समय बजारका लगानीकर्ताको मनोबल यो हिसाबले बढेको छ कि, अब उनीहरुलाई कुनै व्यक्ति विशेषको आगमन वा बहिर्गमनले कुनै फरक पर्नेवाला छैन । गत साता बिजशालाले गरेको सर्वेक्षणले पनि यही देखाएको थियो । सो बेला सर्वेक्षणमा सहभागी अधिकांश लगानीकर्ताले खतिवडा वा अन्य कुनै व्यक्ति विशेषलाई हेरेर अब लगानीको निर्णय नहुने र बजारको बढोत्तरी यात्रा नरोकिने दाबी गरेका थिए । बिहीबार उनीहरुले गरेको दाबीजस्तै भयो । खतिवडा आउन या जाउन, लगानीकर्तामा कुनै वास्ता देखिएन । बरु, उनीहरु बुलिस गतिमा कुदिरहेको बजारमा राम्रा कम्पनीको सेयर सस्तोमा उठाएर होल्ड गर्ने रणनीतिमै देखिए । 

बिहीबार ३ वटा रेकर्ड बनाउँदै बन्द भएको बजारमा वाणिज्य बैंक र विकास बैंकहरु चम्किए । यो दिन बैंकिङ समूहको उपसूचक ८३.२९ अंकले बढ्यो भने विकास बैंक समूहमा ३८.६५ अंक तथा उत्पादन र प्रशोधन समूहमा १६.४५ अंकको बढोत्तरी देखियो । 

बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । व्यापार समूह ४८.४३ अंकले घटेको यो दिन होटल समूहमा २७.६२ अंक, जलविद्युत समूहमा २१.५ अंक, बित्त समूहमा ८.५२ अंक, निर्जीवन बिमा समूहमा २१३.३९ अंक, जीवन बिमा समूहमा १६४.६३ अंक, माइक्रोफाइनान्स समूहमा ५६.३५ अंक र अन्य समूहमा २२.५३ तथा म्युचुअल फण्ड समूहमा ०.१६ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २८ करोड ९२ लाख बढीको कारोबार गर्यो । एनआइसी एशिया बैंकले २० करोड ५९ लाख, एनएमबी बैंकले १५ करोड ७० लाख, नवील बैंकले १५ करोड ३० लाख, शिवम सिमेन्टले १४ करोड ८९ लाख, प्रभू बैंकले ११ करोड ८३ लाख, हिमालयन डिस्टीलरीले ११ करोड ५८ लाख, ग्लोबल आइएमई बैंकले ११ करोड ५७ लाख, नेपाल बैंकले ११ करोड र एभरेष्ट बैंकले १० करोड बढीको कारोबार गर्यो । यसरी हेर्दा १० वटा कम्पनीले मात्रै यो दिन १ अर्ब ५३ करोड हाराहारीमा कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन धेरै कमाउनेमा वाणिज्य बैंक अगाडि देखिए । एभरेष्ट बैंकको मूल्य १० प्रतिशतले बढी सर्किट लाग्यो । 

नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नवील बैंकको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढी सर्किट लाग्यो । 

वोमी माइक्राफाइनान्सका लगानीकर्ताले यो दिन ९.३१ प्रतिशतले सम्पत्ति बढाएका छन् भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य समेत ९ प्रतिशतको हाराहारीमा बढेको छ । 

एनआइसी एशियाका लगानीकर्ताले ८.२० प्रतिशतले सम्पत्ति बढाए भने नेपाल बंगलादेश बैंकको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन ङादी ग्रुप पावर लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य  ६.७१ प्रतिशतले घट्यो ।