काठमाण्डौ । हाइड्रोपावर र वित्त कम्पनीका हकप्रदको पछाडि लागेर दोश्रो बजारबाट सेयर उठाउने क्रम बढेपछि पुनः सेयर बजारमा जोखिम बढेको छ ।

धितोपत्रको दोस्रो बजारमा पुनः हकप्रद सेयरको नाममा कम्पनीहरुको दोश्रो बजारमूल्यमा अस्वभाविक चलखेल भई जोखिम बढ्न थालेको हो । 

यसअघिको बुलमा समेत बैंक, बीमा तथा लघुवित्तको हकप्रदमा उच्च मूल्य तिरेका लगानीकर्ताहरुले विगतको भोगाइलाई चटक्कै बिर्र्सिएका छन् ।

बैंकहरुको सेयर १ हजार रुपैयाँ माथि, लघुवित्त र बीमा कम्पनीका सेयर ४ हजार हाराहारीमा लोभिएर किनेका लगानीकर्ताहरु सडक र नियामकसम्म आन्दोलन गरेको यथार्थ धेरै पुरानो भइसकेको छैन । 

तीन वर्षअघि मात्र हकप्रद सेयरका कारण लगानीकर्ताहरु ‘झोली न टोपी’ भएका थिए । बजारको हकप्रद सेयरका कारण आपूर्ति बढेकाले तिनै लगानीकर्ताहरुले बजारसम्बद्ध निकायहरुमा आन्दोलन नै छेडेको विगत हामीसामु छ । हकप्रद सेयरमा लोभिएरै अधिक मूल्यमा दोस्रो बजारमार्फत सेयर किन्ने र बजारको उत्तारचढावसँग सेयरमूल्य निकै तल आइपुग्दा कतिपयले बैंकबाट लिएका सेयर धितोकर्जा फरफारक गर्न जग्गा जमिन बेच्नु परेको र केही लगानीकर्ताले आत्महत्यासम्म पनि रोज्नु परेको थियो ।

एक लगानीकर्ता नेपालको सेयर बजारमा हकप्रदकै पछाडि लागेर सेयरमूल्य आकासिने र अन्तिममा फस्ने गरेको तीतो यथार्थ रहेको बताउँछन् ।

हिजोआज हाइड्रोपावर र फाइनान्स समूह निकै चम्किएका छन् । कतिपय हाइड्रोको सेयरमूल्य एक महिनाभन्दा कम अवधिमा डबल समेत भइसक्यो भने जोखिमपूर्ण अवस्था र खराब वित्तीय सूचकले थिचिएका फाइनान्स कम्पनीहरुको समेत सेयरमूल्य उछालको गतिमा बढ्दै गएको छ । यसरी सेयरमूल्य बढ्नुमा हकप्रदले नै कारकको भूमिमा खेलेको छ । 

पछिल्लो समयमा विशेषगरी नयाँ लगानीकर्ताहरु पुनः हकप्रदको फण्डामा रमाउँदै उच्च बजारमूल्य तिर्न तँछाडमछाडको अवस्था बनिरहेको छ । केही हाइड्रोपावर र फाइनान्स कम्पनीका ठूलो हकप्रद आउँदा लोभिएर उच्च बजारमूल्य तिर्ने र पछि धेरै सेयर हात पर्ने लोभमा नै यो ट्रयापमा सोझा र साना लगानीकर्ताहरु फसाउने अभ्यास सेयर बजारको नौलो अभ्यास होइन । 

हाल बैंक, बीमा र लघुवित्तलाई हकप्रद सेयर निष्कासनमा नियामकले बन्देज लगाएपछि अब हाइड्रो र फाइनान्सको हकप्रदको जालोमा पुनः लगानीकर्ताहरु फस्दै गइरहेको विश्लेषकहरु बताउँछन् । नकारात्मक नेटवर्थ र इपीएस भएका हाइड्रोपावर कम्पनीका सेयरमूल्य पनि उचालिएर डबल नै हुने अवस्थामा पुगेको छ भने खराब कर्जा र वित्तीय अवस्था निकै नै कमजोर भएका वित्त कम्पनीहरुको समेत सेयरमूल्यमा भारी वृद्धि हुँदै गइरहेको छ । फेरि लगानीकर्ताहरुले हाइड्रो र वित्त कम्पनीले निष्कासन गर्न लागिरहेको हकप्रदमा नै लोभिएर विगतमा झैं उच्च मूल्य तिर्न होडबाजी गरिरहेका छन् । यसले दुर्घटनाको संकेत गरिरहेको जानकारहरु बताउँछन् । 

गएको बुलिस बजारमा हकप्रद सेयरमै लोभिएर ठूलो रकम नोक्सानी बेहोरेका हाल अमेरिका निवासी नवराज सुवेदी नियामक निकायको गैरजिम्मेवारीपनले नै लगानीकर्ताहरु फस्ने गरेको बताउँछन् । हाइड्रोका प्रमोटरहरुले उच्च लागत देखाउने र संस्थापक सेयर दोस्रो बजार सोझा सर्वसाधारणलाई उच्च मूल्यमा भिडाउने गरेको सुवेदीको आरोप छ । नियामकले हकप्रदमा भन्दा बोनस सेयरलाई जोड दिनुपर्ने उनको बुझाइ छ ।

हकप्रद सेयरको लोभमा नफस्न र सचेत हुन सुवेदीले लगानीकर्ताहरुलाई आग्रहसमेत गरे । ‘हकप्रद भनेको पैसा नै हालेर किन्ने चीज हो त्यसैले हकप्रदमा लोभ गर्नुहुन्न । यो मेरो व्यक्तिगत भोगाइ र अनुभव हो।’–सुवेदीले बिजशालासँग भने ।

कुनै पनि कम्पनीको हकप्रद निष्कासन हुँदा लगानीकर्ताहरुको पोल्टामा कम्पनीबाट मुनाफा हात लाग्ने होइन, बरु उल्टै कम्पनीहरुलाई पूँजी बढाउन नै खाँचो परिरहेको हुन्छ । कतिपय अवस्थामा आवश्यकताभन्दा बढी हकप्रद निकाली पूँजीको दुरुपयोग गर्ने ध्येयसमेत कम्पनीले राखेको हुँदा अन्य २–३ वटा कम्पनी स्थापना गर्ने पैसा नै लगानी गर्न पनि उच्च मूल्य तिर्नू चाहिँ मूर्खता भएको बजार जानकारहरु बताउँछन् । कतिपय अवस्थामा कम्पनीले हकप्रद आह्वान गर्ने तर नियामकहरुसामु हकप्रदको स्पष्टीकरण पेश गर्दा हकप्रदको मात्रा समेत घटेको उदाहरण भएकाले यस्ता सूचना तथा पासोमा नपर्न बजारका जानकारहरुले सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।