काठमाण्डौ । नेप्से परिसूचकमा दोहोरो अंकको भारी वृद्धिसँगै परिसूचक १८०० विन्दू नजिक पुगेको छ । नेप्से परिसूचकमा उछालको गति हेर्दा यस्तो लाग्छ, अलटाइम हाई १८८१ ब्रेक हुन अब धेरै दिन लाग्ने छैन । लगानीकर्तामा पनि यही विश्वास देखिन्छ । 

सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१३ विन्दूमा पुगेको छ । परिसूचकमा आएको उछालले कारोबार रकम समेत हालसम्मकै सर्वाधिक ६ अर्ब ११ करोड रुपैयाँ नाघेको छ ।

आज बैंकिङ समूहको उपसूचक मात्रै २.७१ अंकको झिनो बढोत्तरीमा सीमित रह्यो, बाँकी सबै समूहका उपसूचकमा उछाल आयो । व्यापार, होटल्स, जीवन तथा निर्जीवन बीमा समूह, उत्पादन तथा प्रशोधन समूह लगायतका कम्पनीका सेयरमूल्यमा उछाल आएको छ ।

मुलुकभित्र कोरोना संक्रमितको संख्या वृद्धि भइरहे तापनि आन्तरिक पर्यटकको चहलपहल निक्कै बढेपछि होटल समूहका सबै कम्पनी १० प्रतिशत हाराहारीमा बढे । 

यसैबीच पश्चिमा देशहरुमा कोरोना भाइरसको भ्याक्सिन सफल भएको सकारात्मक समाचारले समेत बजार तीव्र रुपमा बढिरहेको विश्लेषकहरुको भनाइ छ ।

केही दिनदेखि महँगा कम्पनीहरुमा आइरहेको उछाल आज पनि यथावत देखियो । ती कम्पनीहरुको बजारमा सेयरको आपूर्ति कम भएको र माग उच्च भएकाले समेत मूल्य निरन्तर रुपमा वृद्धि भइरहेको हो । 

युनिलिभर, एचडीएल, बीबीसी, एसटीसी, बीएनटीलगायतका महँगा कम्पनीहरुको सेयरमूल्यमा उछाल आउँदा अत्यधिक कारोबार भई आजसम्मकै सर्वाधिक कारोबारको रेकर्ड बन्न पुगेको हो । 

बजारमा अझैं पनि हँग्री इन्भेष्टर रहेका र सेयरको आपूर्तिभन्दा पनि माग निक्कै बलियो देखिन्छ । सूचक र कारोबार रकमको समानान्तर वृद्धिका साथ थप टेवा पनि बजारले पाइरहेका कारण अब नेप्से परिसूचक आगामी साता १८०० विन्दू पार गर्ने विश्लेषकहरु दाबी गर्छन् । यस्तो दाबीको बलिया आधारहरु समेत बिहीबारको बजारले देखाइसकेको छ । 

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३९९.१६ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ३७६.१५ अंकले बढेको आज उत्पादन तथा प्रशोधन समूहमा २०४.७३ अंक, व्यापार समूहमा १९८.४ अंक, होटेल्स् समूहमा १८१.६३ अंक, बैंकिङ समूहमा २.७१ अंक, विकास बैंक समूहमा २८.९९ अंक, जलविद्युत् समूहमा २१.६३ अंक, वित्त समूहमा १३.७६ अंक, अन्य समूहमा ५८.१५ अंक, लघुवित्त समूहमा ४६.३८ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
रेकर्डब्रेक कारोबार भएको आज नेप्सेमा सूचीकृत १९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको २७ करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड १२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १८ करोड ४३ लाख रुपैयाँ, नेपाल टेलिकमको १७ करोड ३१ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १६ करोड ७७ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड १८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ६० लाख रुपैयाँ, नागरिक लगानी कोष (सीआईटी) को १३ करोड ७७ लाख रुपैयाँ र प्रभु बैंकको १२ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज १४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन युनिलिभर नेपाल र तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्यमा १० प्रतिशत तथा बोटलर्स नेपाल (तराई), हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स, एसटीसी, नेको इन्सुरेन्स, सोल्टी होटेल, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, ओरेन्टल होटेल्स र गोखार्ज फाइनान्स सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो। आज गुडविल फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशभन्दा बढीले बढेको छ।
 
यो दिन प्रभु बैंक डिबेन्चर–२०८४ र सनराइज फस्ट म्युचुअल फन्डका इकाइमूल्यमा सर्वाधिक २ प्रतिशत बढीको गिरावट आएको छ।