काठमाण्डौ । बढ्दो बजारमा विज्ञप्ति जारी गरी लगानीकर्तालाई हतोत्साही बनाएको आरोप खेपेको नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाउँदै बजारमा भइरहेको सेयर कारोबारको छानबिन गर्न निर्देशन दिएको छ । 

बोर्डले केही दिनअघि लगातार बढिरहेको बजारमा विज्ञप्ति निकालेको थियो । लगानीकर्ताको मनोबल केही कमजोर भई त्यसको भोलिपल्टको बजारमा विज्ञप्तिको प्रभाव प्रष्टै देखिएको थियो । लगानीकर्ताहरुले त्यसको चर्को विरोध गरेका थिए र गरिरहेका छन् । उनीहरुले 'बजार भर्खरै बढ्न थालेको अवस्थामा बोर्डले विज्ञप्तिबाजी गरी घटाउने खेल खेलेको'सम्म आरोप लगाएका थिए । उनीहरुले बजार घटेर लगानीकर्ताको सम्पत्ति घटिरहँदा चूप लाग्ने बोर्डले बजार बढेपछि भने विज्ञप्तिबाजी गर्नु 'चलखेल' नै रहेको दाबी गरी शुक्रबार प्लेकार्डसहित बोर्ड परिसरमा प्रदर्शन नै गरेका छन् । 

बोर्ड भने आफ्नो बाटोबाट दायाँबाया भएको छैन । विज्ञप्तिबाजी गरेर चर्को आलोचना खेपेको बोर्डले पुनः नेपाल स्टक एक्सचेञ्जलाई एक पत्र पठाई पछिल्लो समयको बजारमा चलखेल भएको भन्दै छानबिन गर्न निर्देशन दिएको छ । यो निर्देशनलाई नेप्सेका अधिकारीहरुले भने ‘हास्यास्पद र केटाकेटी तर्क तथा अनलाइन कारोबार प्रणालीको विषयमा पूर्ण ज्ञान नहुँदाको परिणाम’ भनेका छन् । 

'बोर्डले बजार वृद्धिमा शंका गर्दै के कति कारणले बढेको हो ?' त्यो खोजी गर्न भन्दै पत्र पठाएको छ । 

नेप्सेस्थित स्रोतकाअनुसार बोर्डले पठाएको पत्रमा बजारमा स्रोत नखुलेको पैसा आएको हो कि भन्ने आशंका समेत गरिएको छ । 

बजारमा भइरहेको कारोबारको लगानीको स्रोत के हो ? लगानीकर्ताले कर तिरेको छ कि छैन ? जस्ता सामान्य प्रश्नहरु बोर्डले पठाएको पत्रमा उल्लेख गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेले बोर्डको पत्रलाई 'बेमौसमको बाजा' पनि भनेको छ । 'अहिलेको बजारको बढोत्तरी पूर्ण रुपमा स्वभाविक देखिन्छ, बोर्डले अनलाइन कारोबार प्रणाली नबुझेर पुरानै पारामा यस्तो पत्र पठाएको हो ।' नेप्सेका एक उच्च अधिकारीले बिजशालासँग भने-'९० प्रतिशत हाराहारीका सेयर कारोबारीले अनलाइन कारोबार गरिरहेका छन् । सबैले बैंकमै खाता खोलेका छन् । यो जत्तिको पारदर्शी विजिनेश नै अरु छैन, अनि कताबाट आउँछ कालोधन ? के बैंकहरुले स्रोत नखुलेको पैसा खातामा जम्मा गर्न दिन्छन् र ?' 

नेप्सेका अधिकारीहरुले बजारमा स्रोत नखुलेको पैसा आएको हो कि होइन भन्ने कुराको निक्र्यौल गर्ने आधिकारिक निकाय कारोबारीहरुको खाता खोलिदिने बैंकहरु रहेका दाबी गरेका छन् । बैंकहरुले केवाइसीमा कडाई गरी खातामा जम्मा हुने रकमको स्रोत खोज्ने गरेको र तिनै बैंक खाता सिस्टममा इन्टीग्रेट भई अनलाइन कारोबार भइरहेको विषयलाई बोर्डले बिर्सिएको नेप्से बताउँछ । 

'अहिलेको आधुनिक समयमा र पारदर्शी कारोबार भइरहेको बजारमा समेत स्रोत नखुलेको पैसा पो आएको हो कि भन्दै छानबिन गर्न पत्र आउनुलाई हामीले बोर्डका केही अधिकारीमा रहेको ज्ञानको कमीको रुपमा बुझेका छौं ।' स्रोतले भन्यो-'बोर्डमा प्रविधि बुझेका अनुभवी कर्मचारीहरु छैनन्, जसका कारण नेप्सेको अनलाइन प्रणाली र यसमा हुने सेयर कारोबारको तरिकालाई बोर्डले बुझेन र यस्तो पत्र आयो ।' 

बोर्डले यो पटक पठाएको पत्रका कारण नेप्सेका उच्च अधिकारीहरु आफ्नै नियामकप्रति रुष्ट बनेका छन् । अनलाइन प्रणालीका कारण बढिरहेको बजार र लगानीकर्ताको मनोबलमै प्रभाव पार्ने गरी बोर्डले एकपछि अर्को फण्डा गरेकोमा उनीहरु असन्तुष्ट छन् । 

देशका अन्य व्यापार व्यवसाय र क्षेत्रको लगानी सुस्त बनेको बेला सेयर बजारमा थुप्रिएको लगानीलाई बोर्डले राम्रो ढंगले नबुझेकोमा समेत उनीहरु चिन्तित छन् । 

उता, बोर्डले भने बजारमा कालोधन भित्रिएको आशंका रहेकोले पत्र पठाइएको दाबी गरेको छ । 'बजारको बढोत्तरी र कारोबार रकम हेर्दा अस्वभाविक देखिन्छ ।' बोर्डका एक अधिकारीले भने-'चलखेल गर्ने समूहहरुले यस्तो बजारमा कुस्त कमाउलान्, तर सोझासाझा लगानीकर्ताको लगानी नडूबोस् भनेर हामीले छानबिन गर्न भनेका हौं ।' 

त्यसो त सेयर बजारमा एकपछि अर्को गर्दै अरबौं रुपैयाँ ओइरिएपछि नेपाल राष्टबैंकले त्यहाँ जाने पैसामा कडाई गर्ने मौद्रिक नीतिको प्रथम समीक्षामार्फत प्रष्ट पारिसकेको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा ७० प्रतिशतबाट घटाउने तयारी गरिरहेको छ भने व्यक्तिगत ओडी लगायतका कर्जाको प्रडक्टहरुमा पनि कडाई गर्न खोजिरहेको छ । यसरी केन्द्रीय बैंक र बजारको नियामक धितोपत्र बोर्डको लाइन भने एउटै देखिन्छ । दुवै निकायले 'बजारमा शंकास्पद लगानी भएको' आशंका गरेर आ-आफ्नो तर्फबाट आवश्यक कदम उठाइरहेका छन् । तर, बजारको फ्रन्टलाइन रेगुलेटर नेप्से भने 'स्वभाविक कारोबार' भइरहेकोमा दृढ देखिन्छ ।