काठमाण्डौ । निकै चर्चित इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक एलन मस्कले एउटा नयाँ उपलब्धि हासिल गरेका छन् । मस्कको सम्पत्ति एकैदिन २५ अर्ब डलरले वृद्धि भएको छ । यो भनेको विश्वका कुनै पनि अर्बपतिको सम्पत्तिमा भएको एकैदिनको सबैभन्दा ठूलो बढोत्तरीको नयाँ कीर्तिमान रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

मस्कको कम्पनी टेस्ला इंकको सेयरमूल्यमा एकैदिन २० प्रतिशतको उछाल आएसँगै यस्तो कीर्तिमान बनेको हो । 

यो कम्पनीको मूल्यमा एक वर्षको अन्तरालमा आएको सबैभन्दा ठूलो उछाल पनि यही रहेको समाचारमा उल्लेख छ । 

ब्लुमबर्ग बिलेनियर इण्डेक्सका अनुसार यो बढोत्तरीसँगै एलन मस्कको कुल सम्पत्ति बढेर अब १७४ अर्ब डलरको उचाईमा पुगेको छ । 

मस्क यतिबेला विश्वकै दोश्रो धनी व्यक्ति हुन् । मस्कको टेस्लाले भर्चुअल करेन्सी बिटक्वाइनमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी गरेको छ । 

एकैदिनको उछालको गतिमा सम्पत्ति बढेसँगै मस्क विश्वकै धनी जेफ बेजोसभन्दा केही पछाडि मात्र रहेका छन् । यी दुवैको कुल सम्पत्तिमा अब धेरै ठूलो अन्तर छैन । 

बेजोसको अमेजन डटकम इंकको सेयरमा उछाल आएर कुल नेटवर्थ १८० अर्ब डलर पुगेको छ । ब्लुमबर्गका अनुसार मंगलबार सम्पत्तिमा उछाल आउने १० टप व्यक्ति सबै टेक्नोलोजी क्षेत्रसँग जोडिएका व्यक्ति हुन् । 

मस्कले यसअघि दुईपटक बेजोसलाई पछारेर विश्वको सबैभन्दा धनी व्यक्ति बन्ने सफलता पाइसकेका छन् । तर, त्यो पोजिसनमा उनी धेरै समयसम्म टिक्न सकेनन् । यही वर्षको जनवरीमा एलन मस्कको कुल सम्पत्ति बढेर २१० अर्ब डलर पुगेको थियो । तर, त्यसपछि उनको कम्पनीको सेयरमूल्यमा ८.५५ प्रतिशतको गिरावट आयो । त्यसबेला मस्कको कुल नेटवर्थमा एकैदिन १५.२ अर्ब डलरको गिरावट आएको थियो । त्यसपछि उनी १८३ अर्ब डलरका साथ दोश्रो धनी व्यक्तिको रुपमा सीमित बन्न पुगेका थिए ।