काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि बजारमा झिनो अंकको करेक्सन आएको छ।

आज निकै उतारचढाव देखिएको बजार अन्तिम समयमा १.३० अंकको करेक्सनका साथ बन्द भएको हो। योसँगै नेप्से परिसूचक २९६८.४२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ अंकले ओरालो लाग्दै ५४१.१३ को विन्दुमा समेटिएको छ। 

आज कारोबार रकम पनि घटेर ११ अर्ब रुपैयाँको हाराहारी भएको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट आजको घटाइ बजारको सामान्य करेक्सनमात्र भएको बताउँछन्। ‘सेबोनको वक्तव्यले लगानीकर्ताहरु सचेत भएकोजस्तो देखिन्छ, त्यसैले उनीहरु पर्ख र हेरको अवस्था बसेको देखिन्छ’, उनले भने, ‘सोही कारणले पनि आज कारोबार रकम घटेर ११ अर्ब रुपैयाँको हाराहारीमा झरेको छ।’

बिष्ट बजार बुलिस चक्रमै रहेकोले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्। ‘आगामी दिन बजार अवश्य बढ्नेछ, कारोबार पनि बढ्छ’, उनले भने। 

सक्रिय लगानीकर्ता प्रकाश रजौरे यो वा त्यो बहानामा बजार अब कुनै हालतमा प्रभावित नहुने बताउँछन्। ‘आज पनि बजारमा सामान्य करेक्सन नै आएको हो’, उनले भने, ‘बजार बढ्न बाँकी नै छ, सानातिना करेक्सन व्यहोर्दै बजारले ३६०० को विन्दुसम्म पुग्ने सम्भावना अझै छ।’

बैंकिङ सेक्टर चल्न बाँकी नै रहेको र यो सेक्टर चलेपछि बजारमा उछाल आउने रजौरेको तर्क छ। ‘अहिले बजारमा साना र कमजोर कम्पनीलाई उचाल्ने काम भइरहेको छ’, उनले भने, ‘बुलिस बजारमा यस्तै हुन्छ तर अन्ततः राम्रा र बलिया कम्पनीले नै बजारलाई लिड गर्ने हो। त्यसैले केही समय लाग्ला तर आगामी दिनमा बजार माथि नै जाने हो।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक २.०१ प्रतिशतले उकालो लागेको छ। वित्तम समूह १.४३ प्रतिशतले बढेको आज होटेल तथा पर्यटन समूहमा ०.७० प्रतिशत, जीवन बीमा समूहमा ०.१३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३६ प्रतिशत, अन्य समूहमा १.१९ प्रतिशत र व्यापार समूहमा ०.२९ प्रतिशतको बढोत्तरी भएको छ।

आज लघुवित्त समूह सर्वाधिक १.२१ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.५३ प्रतिशतले घटेको यो दिन जलविद्युत समूहमा ०.१० प्रतिशत, लगानी समूहमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.१९ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.२९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँमा किनबेच भएका छन्।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७७ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको ३० करोड ३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल इन्स्योरेन्सको २७ करोड ३९ लाख रुपैयाँ, निफ्राको २४ करोड ५४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २४ करोड २१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २३ करोड ८१ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २२ करोड ८८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २२ करोड ७५ लाख रुपैयाँ, अपी पावरको २१ करोड ६१ लाख रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सको २० करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज खानीखोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाएका छन्। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन सीईडीबी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।