काठमाण्डौ । सेयर बजारमा बुधबार पनि भारी करेक्सन भएको छ। 

बजारमा ६०.०२ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक २८७६.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.९१ अंकले घटेर ५३६.५२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल स्टक हाउसका सञ्चालक ईश्वरी रिमालले आज घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताए। ‘ बजारले करेक्सन खोजिरहेको थियो, करेक्सन भयोे’, उनले भने, ‘बजार केही समय साइडवेजमा जान सक्ने सम्भावना छ तर बियरिस ट्रेन्ड नै आउने सम्भावना अहिले छैन।’

बजार निरन्तर घटिरहेको आज कारोबार पनि घटेको रिमालको भनाइ छ। ‘बजार तलमाथि भएको भए कारोबार बढ्ने थियो’, उनले भने, ‘बजार लगातार घटिरहेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा पनि बसेका छन्।’

बजार घट्यो भन्दैमा डराइहाल्नुपर्ने अवस्था नरहेको रिमालले बताए। ‘बजार लगातार बढ्दा पनि जोखिम हुन्छ, त्यसैले करेक्सन हुँदै अगाडि बढेको बजारमात्र मजबुत हुन्छ’, उनले भने। 

सक्रिय लगानीकर्ता पर्वत बिष्ट भने सेयर धितो कर्जाको सीमाले बजार प्रभावित भएको बताउँछन्। ‘ठूला लगानीकर्ताले इगो लिएजस्तो देखिन्छ’, उनले भने। 

अहिलेको घटाइ अस्वाभाविक भन्दै बिष्टले भने, ‘अझै बजार केही समयका लागि साइडवेजमा जाने सम्भावना छ, किनकि लगानीकर्तामा बजार भविष्यलाई लिएर डरको अवस्था सिर्जना भएको छ। तर, बजार बयरिस होइन, अहिले नै आत्तिनुपर्दैन।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.२९ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ३.२३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.६३ प्रतिशत, विकास बैंक समूहमा २.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.८२ प्रतिशत, जलविद्युत समूहमा १.५९ प्रतिशत, लगानी समूहमा २.४३ प्रतिशत, जीवन बीमा समूहमा २.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७५ प्रतिशत, लघुवित्त समूहमा १.२२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.४७ प्रतिशत र व्यापार समूहमा २.३८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२६.९१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ४० करोड ५७ लाख रुपैयाँ बढी कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको २४ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको आज स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको २३ करोड ६३ लाख रुपैयाँ, रैराङ हाइड्रोपावरको २३ करोड ४६ लाख रुपैयाँ, युनिभर्सल पावरको २३ करोड ४२ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ७१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ५५ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको १० करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीसँगै पोजिटिभ सर्किट लागेको छ। यो दिन एक्सेल डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

यो दिन लाइफ इन्स्योरेन्सका सेयरधनीले सार्वधिक गुमाए। यो कम्पनीको सेयरभाउ आज ६ प्रतिशत बढीले ओरालो लागेको छ।