काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरु नै ब्याजदर वृद्धिमा आक्रामक देखिएसँगै यसको प्रभावले सेयर बजारमा नकारात्मक प्रभाव पर्दा नेप्से परिसूचकमा पहिरो गएको छ । 

केही बैंकले ब्याजदर घटाएको खबरले आइतबार दोहोरो अंकले बढेको बजार सोमबार बैंकहरुले आक्रामक रुपमा ब्याजदर बढाएसँगै घट्न पुगेको हो । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकाल ब्याजदर बढेर ११ प्रतिशत पुग्दैमा त्यसले बजारलाई खासै असर नगर्ने दाबी गर्छन् । 'हिजोको दिनमा पनि ब्याजदर १२ प्रतिशत पुगेकै हो, त्यसबेला पनि बजारमा खासै प्रभाव परेन ।' उनले भने-'नेपालको सेयर बजारको औसत रिटर्न ११ प्रतिशतभन्दा राम्रो छ, त्यही भएर यसले केही फरक पार्दैन ।' 

उनले धेरै लगानीकर्ता अझै फेस्टिभ मूडमै रहेका कारण पनि बजारमा खासै चमक आउन नसकेको दाबी समेत गरे । 

उनले बैंकहरुले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गरेका र यसले कर्जाको ब्याजदर समेत बढाउने संभावना भएको, त्यसो भयो भने मुद्रास्फिति समेत बढ्ने भएकोले राष्ट्रबैंकले बेलैमा सचेत बन्नुपर्नेमा जोड दिए । 'कर्जाको ब्याजदर पनि बढ्यो भने राष्ट्रबैंकले निजी क्षेत्रतर्फ कर्जाको बिस्तारका लागि लिएको लक्ष्यमा धक्का लाग्नसक्छ, त्यही भएर उसले पनि बेलैमा हस्तक्षेप गर्न आवश्यक छ ।' उनले भने-'मुख्य रुपमा राष्ट्रबैंकले सीडी रेसियो सम्बन्धमा गरेको नयाँ व्यवस्थाले पनि तरलता अभाव भएको देखिन्छ, यसमा पुनर्विचार हुन आवश्यक छ ।' 

उनले बजारमा निकै ठूलो अंकको करेक्सन भइसकेकोले अब थप करेक्सन नहुने दाबी गर्दै भने-'त्यसकारण अहिलेको समय भनेको राम्रा कम्पनीको सेयर छानी छानी खरीद गर्ने समय हो । डराउने अवस्था होइन ।' 

यसैगरी, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले बैंकहरुबीच ब्याजदर वृद्धिको अस्वभाविक प्रतिस्पर्धा सुरु भएको र यसलाई बेलैमा रोकिएन भने यसले गम्भीर अवस्था ल्याउनसक्ने दाबी गरिन् । 'तसर्थ अर्थमन्त्रालय र राष्ट्रबैंकले यो विषयलाई बेलैमा नियमन गर्न आवश्यक छ ।' उनले थपिन्-'राष्ट्रबैंक पछिल्लो समय बजारप्रति नकारात्मक छ भनेर आलोचना भइरहेको छ । यदि त्यसो हो भने अर्थ मन्त्रालयले राष्ट्रबैंकलाई निर्देशित गर्न सक्नुपर्छ ।' 

राष्ट्रबैंकका कतिपय बजारविरोधी व्यवस्था, ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा परेका उल्लेख गर्दै उनले भनिन्-'अब मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पनि हुन लागेको छ । यसमार्फत राष्ट्रबैंकले ४ करोड र १२ करोडवाला सेयर कर्जाको क्याप हटाउनुपर्छ । सीडी रेसियो सम्बन्धी व्यवस्था पनि तत्काल सच्याउनुपर्छ ।' 

उनले राष्ट्रबैंकले यी दुई व्यवस्थामा पुनर्विचार नगरेसम्म र ब्याजदरको दौड नरोकिएसम्म बजारमा सुधार हुने गुञ्जायस आफूले नदेखेको दाबी समेत गरिन् । 

सोमबार के–के भयो बजारमा ?
सोमबार सेयर बजार मापक परिसूचक नेप्से इण्डेक्स ६९.५१ अंकले घटेर २५८७.४५ अंकमा सीमित बन्न पुगेको छ । 

दशैं विदापछि खुलेको पहिलो दिनको बजारको तुलनामा लगानीकर्ताको सहभागिता बढेसँगै कारोबार रकम भने सुधार भई ३ अर्ब हाराहारी पुगेको छ । 

यो दिन फाइनान्स र माइक्रोफाइनान्स समूहमा पहिरो नै गएको छ । फाइनान्स समूहको उपसूचक ४.२६ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स ३.४९ प्रतिशतले घटेको छ । 

जलविद्युत समूहमा ३.७४ प्रतिशतको पहिरो गएको यो दिन विकास बैंक समूह ३.४४ प्रतिशत, बैंकिंग समूह २.०५ प्रतिशत, होटल तथा पर्यटन समूह २.८३ प्रतिशत, इन्भेष्टमेन्ट समूह २.५२ प्रतिशत, जीवन बीमा समूह २.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.८० प्रतिशत र म्युचुअल फण्ड समूह १.३३ प्रतिशतले घट्न पुगे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन २१८ कम्पनीका ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नवील बैंकको ९ करोड ८९ लाख बढीको कारोबार भयो। 

सानिमा बैंकले ९ करोड ८१ लाख बढीको कारोबार गरेको यो दिन हिमालयन डिस्टीलरीको ९ करोड ६५ लाख, अपी पावर कम्पनीको ७ करोड ५२ लाख, नेपाल बैंकको ७ करोड ४६ लाख, मेगा बैंकको ७ करोड ३३ लाख, जीवन विकास लघुवित्तको ६ करोड ६१ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ६६ लाख, एनआइसी एशिया बैंकको ५ करोड १८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड १४ लाख बढीको कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन १० वटा स्क्रिप्टको मात्र मूल्य बढ्यो । जसमा दुईवटा ऋणपत्र, चारवटा म्युचुअल फण्ड र अन्य ४ वटा विभिन्न कम्पनी रहेका छन् । 

महालक्ष्मी विकास बैंकको सेयरमूल्य १.९९ प्रतिशतले बढेको छ भने साल्ट ट्रेडिङको मूल्य १.०६ प्रतिशत, साञ्जेन जलविद्युतको मूल्य ०.५८ प्रतिशत तथा युनिलिभर नेपाल लिमीटेडको मूल्य ०.४५ प्रतिशतले बढ्यो । 

यो दिन घलेम्दी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेका कारण नकारात्मक सर्किट लाग्यो । धेरै गुमाउने १० कम्पनीको सूचीमा ९ स्थान जलविद्युत कम्पनीले नै ओगटे ।