काठमाण्डौ । मंगलबार पनि बजारमा भीषण पहिरो गएको छ । बजार खुलेदेखि नै घट्न थालेको नेप्से कारोबार सुरु भएको २ घण्टा अर्थात १ः०३ बजेसम्म ९२ अंक(३.५५ प्रतिशत) हाराहारीमा घटेर २४९६ को विन्दूमा सीमित बन्न पुगेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रबैंकले ल्याएको सीडी रेसियो सम्बन्धी व्यवस्थाका कारण परेको संकट टार्न र आफ्नो पोर्टफोलियो व्यवस्थापनका लागि भन्दै ब्याजदर ह्वात्तै बढाएपछि त्यसको प्रभाव बजारमा देखिएको हो । 

सोमबारसम्म पनि ब्याजदर आक्रामक रुपमा बढाउने बैंकहरुमाथि राष्ट्रबैंकले हस्तक्षेप गर्ला र बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबीए)ले पनि कुनै समन्वयकारी भूमिका खेल्ला भन्ने लगानीकर्तामा आशा थियो । तर, राष्ट्रबैंकले ब्याजदर बजारले निर्धारण गर्ने भन्दै हस्तक्षेप नगर्ने प्रतिक्रिया सार्वजनिक गरेपछि लगानीकर्ता अत्तालिएका हुन् ।

यस्तै, एनबीएले पनि ब्याजदर बढाउने बैंकहरुलाई बोलाएर छलफल मात्र गरेको र ब्याज वृद्धिलाई बैंकहरुको बाध्यता भनिदिएपछि लगानीकर्तामा थप अन्यौल सिर्जना भएको देखिन्छ । यसैको फलस्वरुप मंगलबार पनि बजार तीव्र गतिमा घटिरहेको हो । 

यो समाचार तयार पार्दासम्म बजारमा १ अर्ब ८७ करोड हाराहारीमा मात्र सेयर किनबेच भएको छ । 

यो दिन सबैभन्दा ठूलो पहिरो बित्त कम्पनी, विकास बैंक र जलविद्यूत समूहमा गएको छ । बित्त समूहको उपसूचक ६ प्रतिशत हाराहारीमा घटिसकेको छ भने विकास बैंक समूहको उपसूचकमा ५.६ प्रतिशत र जलविद्युत समूहमा ५.११ प्रतिशतको पहिरो गएको छ । 

बैंकिङ समूह ३.२ प्रतिशतले घटिसकेको छ भने होटल तथा टुरिजम ३.१५ प्रतिशतले, निर्जीवन बीमा समूह ३.१६, जीवन बीमा समूह ३.४१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ३.३४ प्रतिशत, अन्य समूह २.८४, माइक्रोफाइनान्स ३.६२, इन्भेष्टमेन्ट समूह ३.७३ प्रतिशतले घटेका छन् । 

कारोबारमा आएका ११ स्क्रिप्टको मूल्य सामान्य बढेको छ भने अरु सबैको तीव्र रुपमा घटेको छ । 

धेरै गुमाइसकेका १० कम्पनीको सूचीमा ८ स्थान हाइड्रोपावर कम्पनीले ओगटेका छन् । ७ वटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्ने अवस्था बनिसकेको छ ।