काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १०.२७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१२३.८२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.११ अंकले बढेर ४०९.५६ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार मुक्ति अर्याल बजारमा अहिले ट्रेडरहरु हावी भइरहेको बताउँछन्। ‘त्यसैले बजार छिटोछिटो घट्ने र बढ्ने भइरहेको छ’, उनले भने, ‘आज माथि गएको बजार इन्ट्राडेमै करेक्सन भयो।’

बजारमा सबै सकारात्मक विषयवस्तु रहेको उल्लेख गर्दै अर्यालले विश्व बजारमा डलरसँगै तेलको भाउ घटेको बताए। ‘चौथो त्रैमासकोरिपोर्टहरु पनि राम्रै आइरहेको छ’, उनले भने, ‘त्यसैले बजार सकारात्मक नै हुने आश गर्न सकिन्छ।’

सक्रिय लगानीकर्ता विष्णु भुसाल पनि बजारमा ट्रेडर नै हाबी भएको बताउँछन्। ‘आजको बजार हेर्दा लगानीकर्ताहरु धेरै घटेर पनि बेच्न नचाहेको र बढेर खान पनि चाहेकोजस्तो देखिन्छ’, उनले भने। 

बजार केही समय साइडवेजमै चल्न सक्ने भुसालको भनाइ छ। ‘किनकि कर्जाको ब्याजदर नै १५ प्रतिशतभन्दा माथि पुगेको अवस्था छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.१६ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह १.७५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०२ प्रतिशत, विकास बैंक समूहमा १.३८ प्रतिशत, जलविद्युत समूहमा १.०३ प्रतिशत, वित्त समूहमा १.८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०५ प्रतिशत, अन्य समूहमा १.४३ प्रतिशत, लघुवित्त समूहमा ०.५८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०२ प्रतिशत र लगानी समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ। 

आज जीवन बीमा समूह ०.०५ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १३ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको १२ करोड ७३ लाख रुपैयाँ बढीको किनबेच भएको आज फरवार्ड लघुवित्तको ९ करोड ९२ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ८ करोड १० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ६८ लाख रुपैयाँ, साहस ऊर्जाको ६ करोड रुपैयाँ, नेपाल टेलिकमको ५ करोड २३ लाख रुपैयाँ, अपी पावरको ४ करोड ६८ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको ४ करोड ३९ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ४ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मनकामना स्मार्ट लघुवित्त र तेह्रथुम पावरको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मनकामना स्मार्टको सेयरमूल्यमा १० प्रतिशत तथा तेह्रथुम पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। उपकार लघुवित्तको सेयरभाउ ९.१३ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन नयाँ सारथी लघुवित्त, सामलिंग पावर र ग्रामीण विकास लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी सबै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।