काठमाण्डौ । सेयर बजारमा सोमबार हरियाली छाएको छ। 

बजार आज ५५.८८ अंकले बढ्नुका साथै सबै सूचकमा हरियाली छाएको छ। योसँगै नेप्से परिसूचक २०६५.८९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ११.२३ अंकले बढेर ३९८.१३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि हिजोको तुलनामा बढेर साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल ब्याजदर नबढ्ने समाचारले नै आज बजार बढेको बताउँछन्। ‘बजार केही दिनदेखि विविध कारणले घटेको थियो’, उनले भने, ‘आज ब्याजदर नबढ्ने पोजिटिभ समाचार आयो, त्यसैले बजार बढ्न सहयोग गर्यो।’

बजार धेरै घटेका कारण पनि आज बढेको ढकालको तर्क छ। ‘अहिले लगानीकर्ताले लगानीको प्रतिफल खाने समय भएकोले पनि बजार बढ्न टेवा पुगेको छ’, उनले भने।

आज कारोबार र भोलुम दुवै बढेकोले आगामी दिनमा बजार सकारात्मक नै हुने आशा गर्न सकिने ढकालको भनाइ छ। 

बजार जानकार सरोज भट्टराईले ब्याजदर नबढ्ने विषयले नै आज बजार बढेको बताउँछन्। ‘कर्जाको ब्याजदर पहिलेको जस्तो सस्तो नभए पनि निक्षेपको ब्याजदर नबढ्ने खबरले लगानीकर्ता उत्साहित भएका छन्’, उनले भने। 

सबैतिर महौल सकारात्मक भए बजार माथि नै जाने भट्टराईको विश्वास छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

आज वित्त समूह सर्वाधिक ७.३८ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ५.९ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ५.३२ प्रतिशत, बैंकिङ समूहमा १.२४ प्रतिशत, व्यापार समूहमा ४.३८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.११ प्रतिशत, जलविद्युत समूहमा ४.४३ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४७ प्रतिशत, लघुवित्त समूहमा २.९८ प्रतिशत, जीवन बीमामा समूहमा १.५३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६३ प्रतिशत र लगानी समूहमा २.८१ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका ६० लाख २६ हजार १९२ कित्ता सेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको २१ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ८५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड १४ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तको ५ करोड ४९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ९७ लाख रुपैयाँ, एनसीसी बैंकको ४ करोड ७४ लाख रुपैयाँ, अपी पावरको ४ करोड ५८ लाख रुपैयाँ र युनिभर्सल पावरको ४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ९ वटा कम्पनीहरुको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टीपर्पस फाइनान्स र राधी विद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा रिभर पल्स पावर, पञ्चकन्या माई हाइड्रोपावर, अप्पर हेवा खोला हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त, हिमालय ऊर्जा विकास र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन गोर्खाज फाइनान्स, आईसीएफसी फाइनान्स, युनिभर्सल पावर र दोर्दी खोला जलविद्युतको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज रिडी पावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।