काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। 

बजार आज १५.९२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८३१.०५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक २.५४ अंकले बढेर ३५८.१४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ६६ करोड रुपैयाँ बढी भएको छ। 

बजार जानकार सरोज भट्टराई बजार धेरै घटेको आज बढेको बताउँछन्। ‘बजारलाई भोलुमले खासै साथ दिएको छैन’, उनले भने, ‘लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा छन्।’

अहिले सेयर लगानीकर्ताहरु अन्य व्यापारमा लागेको जस्तो देखिएको भट्टराईले बताए। 

विश्व अर्थतन्त्रलाई हेर्दा अहिले नै ब्याजदर घट्ने सम्भावना नरहेको भट्टराई बताउँछन्। ‘सरकारले हस्तक्षेप गरेर ब्याजदर घटाउने सम्भावना छैन, यो चुनावी फन्डामात्रै हो’, उनले भने, ‘५ वर्षअघिको बजारलाई हेर्दा पनि यो बुझिन्छ।’

अर्का बजार जानकार दमोदर गजुरेल अहिले बेचेर तत्काल पैसा नपाउने र किन्नेले पनि तिर्नु नपर्ने हुँदा आज आपूर्ति घट्दा र माग बढ्दा बजार बढेको बताउँछन्। ‘भोलुम बढेको छैन, त्यसैले अहिले नै बजार अब माथि जान्छ भन्नु हतार हुन्छ’, उनले भने, ‘प्राविधिक रुपमा केही कन्फर्मेसन हेर्नुपर्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक १.६२ प्रतिशतले उकालो लागेको छ। वित्त समूहमा १.४६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.९९ प्रतिशत, व्यापार समूहमा ०.९२ प्रतिशत, जलविद्युत समूहमा १.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३६ प्रतिशत, अन्य समूहमा ०.६७ प्रतिशत, लघुवित्त समूहमा ०.९ प्रतिशत, जीवन बीमा समूहमा ०.५८ प्रतिशत र लगानी समूहमा ०.४१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.८२ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूहमा पनि ०.४७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका २१ लाख ७ हजार ७४२ कित्ता ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन रिडी पावरको सर्वाधिक २ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको आज सानिमा माई हाइड्रोपावरको २ करोड २६ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड १८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १ करोड ७९ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ७४ लाख रुपैयाँ, अरुण काबेली पावरको १ करोड ५७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १ करोड ४६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड १८ लाख रुपैयाँ र शिवम सिमेन्टको १ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशत हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन सामलिंग पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।