काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बजारमा देखिएका विकृति सुधार्दै लैजाने पर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘अप्ठ्यारो बेलामा बजारमा देखिएको विकृति सुधार्न हुन्न भन्न थाल्यौँ भने पछि त्यो कहिले पनि सुधार हुँदैन’, उनले भने, ‘त्यसले पछि झन समस्या उत्पन्न हुन सक्छ।’

आजको विकृति केही उद्योगी–व्यापारीलाई अप्ठ्यारो परिरहेको छ भने त्यस्ता विकृति नहटाए भोलिका दिनमा अरुलाई पनि अप्ठ्यारो पर्ने गभर्न अधिकारीको भनाइ थियो। ‘आफूले लगेको ऋण समयमै तिर्ने हो भने बजारमा पनि सहज स्थिति सिर्जना हुन्छ’, उनले भने। 

अहिलेको अवस्थामा सुधार ल्याउन राष्ट्र बैंकले हरसम्भव प्रयास गरिरहेको पनि गभर्नर अधिकारीले बताए। ‘हामीले आफ्नोतर्फबाट गर्नुपर्ने काम गरिरहेका छौँ’, उनले भने। 

विश्वभर अहिले महँगी मार रहेको उल्लेख गर्दै नेपालमा मुद्रास्फीति बढेको गभर्नर अधिकारीले बताए। ‘यो अवस्थामा ब्याजदर बढ्नु स्वाभाविक हो’, उनले भने, ‘त्यसलाई सहनुपर्छ।’ 

अहिलेको ब्याजदर एउटा विन्दुमा पुगे फेरि घट्ने पनि गभर्नर अधिकारीले बताए। ‘एक साताअघिसम्म अन्तरबैंक ब्याजदर ८.५ प्रतिशत थियो, हिजो घटेर ६.७६ प्रतिशतमा झरेको छ’, उनले भने, ‘यसले पक्कै पनि तरलता सहज हुँदै गएको संकेत गर्छ।’

तरलता सहज बनाउन राष्ट्र बैंकले काम गरिरहेको पनि अधिकारीले बताए। ‘पछिल्लो एक वर्षको अवधिमा राष्ट्र बैंकले ९७ खर्ब तरलता बजारमा पठाइएको छ’, उनले भने। 
रेमिट्यान्स पनि बढ्दै गएकोले तरलतामा सुधार हुँदै गइरहेको गभर्नर अधिकारीले बताए। ‘बजारलाई हामी सहज बनाउँछौँ नै’, उनले भने, ‘आउँदा दिनहरुमा आउने सम्भावित चुनौतीहरुलाई सामना गर्न हामी प्रयासरत छौँ।’