-प्रकाश बञ्जारा
युएई । बजारीकरण गर्नु र आफ्नो ब्राण्डलाई ग्राहकसम्म लान हाम्रो उत्पादन उपभोग गरिदिनुहोस भनेर अनुरोध गर्नु नयाँ प्रयोग हैन । कम्पनीहरुले आफ्ना ग्राहकलाई आकर्षित गर्न बेला बेलामा विभिन्न प्रकारका उपहार योजना ल्याउँछन् त कसैले आफ्नो मागलाई घटाउन नदिन बिभिन्न उपाय लगाएर ग्राहकलाई आफूतिर आकर्षित गरिरहन्छन् । प्रायको ध्यान नयाँ ग्राहकलाई आफूमा आकर्षित गर्ने पुराना त आफ्ना छँदैछन् भन्ने गरेको पनि पाइन्छ, तर आफ्नो पुराना ग्राहकलाई पनि बेला बेला प्रोत्साहन दिने काम कमै भेटिन्छन्, आखिर व्यापार न हो । व्यापारीलाई त सँधै नाफासँग नै सरोकार हुन्छ । तर नाफासँगै कम्पनीको साँख जोगाइरहनु चानचुने कुरा होइन । त्यस्तै बजारीकरणको नौलो शैली भेटिन्छ युएईमा आइएमईको । 

कम्पनीलाई पहिला बजार लिन निकै गाह्रो हुन्छ, बजार लिएपछि त्यहाँ टिकिरहन झनै गाह्रो छ । नेपाली रेमिट्यान्सको जगतमा पुरानो कम्पनी हो आइएमई । जतिबेला नेपालीहरु बैदेशिक रोजगारीको लागि खाडी लगायतका मुलुकमा आउन थाले, त्यतिबेला कमाएको पैसा कसरी घर लाने भन्ने निकै ठूलो चुनौती थियो । आज जस्तो बैंकहरु थिएनन् न त चौकैपिच्छे रेमिट्यान्स कम्पनीहरु नै थिए । एकादुई टाठाबाठाहरु थिए उनीहरु कोहीकतैबाट आफन्तको सहयोग लिएर नेपालमा कुनै नजिकैको बजारसम्म  पैसा दिलाउन सहयोग गर्थे, बदलामा विदेशमा उसलाई कमिसनसहित पैसा बुझाउनु पथ्र्यो । बदलामा ती टाठाबाठा भनाउँदाहरुलाई कमिसनसहित विदेशमा पैसा दिनुपर्ने चलन थियो । 

आजभन्दा करिब १८ बर्ष पहिले रेमिट्यान्स कम्पनीहरु खुल्दै गर्दा पनि अहिले जस्तो बजारैपिच्छे पैसा निकाल्ने मनि ट्रान्सफरहरु थिएनन् रे, युएईबाट पैसा नेपालमा पठाएको ४/५ दिनमा बैकमा गएर पैसा लिन सकिन्थ्यो यो आइएमईका पुराना सेवाग्राही जुन लामाको अनुभव हो । त्यसैले धेरैले छुट्टीमा घर गएकै बेला आफूले कमाएको पैसा एकैचोटि लिएर जाने गर्थे ।

पहिले आफ्नो सुविधाका लागि पैसाको ओसारपसार गर्नेहरु विस्तारै मोटाउँदै गए, पहिले उनीहरु त्यो काम आफ्नो सहजताको लागि मात्र गर्थे । पछि गएर नाफामुखी हिसाबमा चल्दै गए । गिरोह बन्यो र बढ्दै गयो, आज त्यहि गिरोह हुण्डी नामले प्रचलित छ । समय र सूचना प्रविधिको विकास हुँदै गयो ।  बैंक, वित्तीय संस्था, रेमिट्न्यान्सको कारोबार गर्ने एक्सचेञ्ज हाउसहरुको विकास पनि भयो । तर उतातिरको गिरोह यति सक्रिय भयो कि झिनो नाफाको लोभमा मान्छेहरु वैधानिक रेमिट्यान्स सँगै अबैधानिक रेमिट्यान्सतिर पनि ढल्किन लागे र अहिलेको अवस्था पनि त्यस्तै नै छ । 

पहिले आफ्नो सहजताका लागि पैसा पुर्याइन्थ्यो, अहिले कर छली गरेर कमोडिटिज सामान लगिन्छ तर नेपालीले श्रम गरेर कमाएको पैसा नेपाल जाँदैन, पैसा यतै रहन्छ र खाली सामान जान्छ त्यो पनि कर छली भएर । हाम्रा दाजुभाईले त्यो कुरा त्यति गहिराईमा गएर बुझ्दैनन् बस उनीहरुलाई केही नगदमा फाइदा हुन्छ, त्यतिमै मख्ख हुन्छन् । कसैले हुण्डि त गर्न हँुदैन नि, पैसा त बैधानिक माध्यमबाट पठाउनुपर्छ भन्यो भने उनीहरुको उत्तर एउटै हुन्छ “देशले हामीलाई के दिएको छ र ? ” उत्तर त उनीहरुलाई दिन सकिँदैन, किनकि उनीहरु बुझन खोज्ने पक्षमा नै हुँदैनन् । 

हो त्यति नै बेला जन्मियो आइएमई र सिकायो विदेशबाट नेपाल पैसा पठाउनु भनेको आइएमई गर्नु हो भनेर । अहिलेसम्म पनि कम बुझाई हुनेहरुले पैसा अन्य रेमिट्यान्स कम्पनीबाट पठाएको भए पनि “यति पैसा आइएमई गरिदिएको छु है” भनेर भनिहाल्छन् । 

त्यही भएर पनि आइएमईलाई बजारमा राम्रो मानिन्छ, जसले रेमिट्यान्सलाई सहजीकरण गर्यो, बैधानिक बाटो बनायो र आज लाखौँ ग्राहकको माया पाएको छ । खाडीको विकसित मुलुक युएईमा आर्ईएमई गरौँ भन्दै हिड्ने २ जना युवा छन् । जसमध्ये एक हुन उत्तम बस्नेत र अर्का हुन ईश्वर अधिकारी । बस्नेत १० बर्ष युएईको नाम चलेको रेमिट्यान्स कम्पनी युएई एक्सचेञ्जको अनुभव लिएर एक साल पहिला मात्र आईएमईसँग जोडिएका हुन भने अधिकारी आईएमईको हेड अफिसबाट बजारीकरणकै लागि युएई खटाइएर झण्डै तीन बर्षअघि युएई आएका हुन । यिनीहरुको बजारीकरण गर्ने शैली पनि खप्पीसको छ । जहाँकहीँ आइएमई गरौँ भन्न जाँदैनन् बरु हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद भन्दै नेपाली भएका क्याम्पहरुमा पुग्छन् त कहिलेकाही हुने संघसंस्थाको कार्यक्रममा पनि एउटा आइएमईको ब्यानर बोकेर उपस्थित हुन्छन् । 

धेरैजसो हाम्रो परम्परा र चाडबाडसँग जोडिएर परदेशमा पनि नेपाली झल्को दिन कहिले दशैमा टिका लगाँउने कार्यक्रम गर्छन त कहिले तिजमा चेलिबेटी भेला गरेर दर ख्वाउने कार्यक्रम आयोजना गर्छन । कहिले लामो समय युएईमा बिताएका नेपालीलाई विदाई गर्न लेबर क्याम्पमा पुग्छन् भने कहिले नयाँ आउनेलाई स्वागत गर्न पनि पछि हट्दैनन् । 

कलाकारिताका माध्यमबाट आफ्ना ग्राहकलाई व्यस्त बनाईरहन आइएमईले आइएमई फोटो प्रतियोगिता, आइएमई मुक्तक प्रतियोगिता, आइएमई भिडियो प्रतियोगिता जस्ता कार्यक्रमहरु ल्याएर आफ्नो सेवा र कम्पनीको बजारीकरण मनोवैज्ञानिक हिसाबले गर्दै आइरहेको छ । 

भर्खरैमात्र सम्पन्न गरेको देखाउँ प्रतिभा खुलेर, जितौँ पुरस्कार आइएमईसँग मिलेर भन्ने नारासहित कलाको माध्यमबाट ग्राहककलाई मनोरञ्जन दिने काम गरे । आईएमई गरौँ युएई पेजबाट सार्वजनिक गरिएको सो भिडियो प्रतियोगितामा सन्देशसहितको कला प्रस्तुत  गर्ने झापाका कमल तामाङ्गको भिडियोले एकलाख ५० हजार भन्दा बढी भ्यूसहित प्रथम पुरस्कार ६ सय दिराम पुरस्कार हात पारे भने इन्द्र सेन्चुरीको भिडियोले दोस्रो पुरस्कार जित्यो । 

यस्तो प्रतियोगिता आफ्नो बजारीकरणका लागि मात्र नभई प्रवासमा भएका नेपालीलाई मनोरन्जनको माध्यमबाट व्यस्त बनाउन समेत आयोजना गरिएको उत्तम बस्नेतको भनाई छ । बस्नेत आईएमईको लागि युएई प्रमुख हुन् । 

आफूहरु सबै लेवलका नेपालीसमक्ष पुग्ने गरेको बताउने यो आइएमइको टोली रेमिटान्ससँगै नेपालीमा बैँकिङ्गका क्षेत्रमा युएईमै बसेर नेपालमा के के गर्न सकिन्छ भन्ने चेतनासमेत फैलाउँछन् । 

आईएमईपे नामक एपबाट पाइने सेवा लिएर विदेशमै बसी बसी घरको विल पेमेन्ट, मोवाइल रिचार्ज जस्ता सेवा लिन सकिने रहेछ, त्यो पनि उत्तमले हामीसँगको बसाईमा सुनाउन भ्याए । त्यतिमात्र नभएर आइएमई पेमार्फत अब सजिलै विदेशबाट पठाएको पैसा निकाल्न समेत सकिने भएको रहेछ । 

रेमिट्यान्सको बजार ठूलो छ खाडीमा । ठूलो सँख्यामा नेपाली अझै पनि अबैधानिक रेमिट्यान्समा छन् । खै कुन्नि किन उनीहरु उतै रमेका छन् ।

सरकारले बैधानिक गर्नेलाई केही प्रोत्साहान गर्ने काम गरे नेपालीले दुख गरेको पैसा जस्ताको तस्तै देश जाने थियो, अनि फाइदा त देश जनता दुवैलाई हुने हो । आईएमईले पनि त्यही भन्यो । हुण्डी निरुत्साहित गरौँ, पसिनाको कमाईलाई सम्मानका साथ बैकिङ्ग च्यानलबाट देशमा भित्राउँ, देश बनाउने जिम्मा आइएमईको मात्र हैन तपाईहामी सबैको हो । दुरदराजमा पसिना बगाएर घरमा आफ्नाको सपना साकार पारिरहेका नेपालीलाई देशको याद मेटिने गरी सँगै हिँड्ने र साथमा आफ्नो बजारीकरण पनि गर्ने शैली उदाहरणीय छ ।