काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले औपचारिक रुपमा दोश्रो पटक सम्हालिएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको भोलिपल्ट मंगलबार शेयर बजारमा सामान्य करेक्सन भएको छ । 

तर लगानीकर्ताहरु बोर्डले सचेत गराए पनि रोकिने छाँटकाट अझै देखिएको छैन । शेयरबजारमा १३ सय माथि नेप्से परिसूचक पुग्नुलाई ठूलो कुरा मान्न नहुने केही विज्ञहरुले प्रष्टीकरण दिएपछि लगानीकर्ताहरु लगानीलाई अझ बढाउने मनस्थितिमा पुगेका देखिएको छ । 

मंगलबार नेप्से परिसूचक ४.७१ अंकले घटेर १३७०.०४ अंकमा आइपुग्यो । बजार खुल्दा सूचक १३७४.९५ अंकमा  थियो । कारोबारको पहिलो हाफमा घटेर १३६२.८३ अंकमा आइपुगे पनि दोश्रो हाफमा केही बढेर नेप्सेमा सामान्य करेक्सन मात्र भएको हो । 

मंगलबार कारोबार रकम समेत घटेको छ । १७ लाख २६ हजार कित्ता शेयर ३ हजार १४ कारोबारबाट खरीदबिक्री हुँदा बजारमा ५८ करोड ७१ लाख पूँजी परिचालन भयो । दुई दिनअघि मात्र नेप्सेमा उछाल आउँदा कारोबार रकम १ अर्ब १४ करोड पुगेको थियो । 

कारोबारको हिसाबले टप १० कम्पनीमध्ये ८ वटा वाणिज्य बैंक दर्ज भए । सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः १.०९ र ०.४१ अंकले घटे । 

मंगलबार वाणिज्य बैंक, होटल, बीमा र जलविद्युत समूहको सूचक ओरालो लाग्यो  । विकास बैंक र वित्त कम्पनीमा भने केही सुधार देखियो । समग्र सूचक ओरालो लागे पनि बजारमा वाणिज्य बैंकहरुको धेरै सेयर कारोबार भयो। एभरेष्ट बैंक, नेपाल बैंक, एनएमबी बैंक र सानिमा बैंकको सेयर कारोबार बढ्यो । 

मंगलबार बजारमा महिला सहयात्रा माइक्रोफाइनान्स र पश्चिमाञ्चल फाइनान्सका लगानीकर्ताले धेरै कमाए । सबैभन्दा धेरै मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए ।