►भक्तराज रसाइली

काठमाण्डौ । आजभोलि शेयरबजारमा रौनकता हराएको छ । श्रावण महिना सेयरमा लगानी गर्नेहरुका लागि बाली पाक्ने समय मानिन्छ र यो महिना प्रायः नेप्सेको धर्को उक्लिने गरेको विगतका वर्षहरुले पनि देखाउँछ । तर, यो वर्ष त्यसको ठीक विपरीत गतिमा नेप्से दौडिरहेको छ । 

सूचिकृत कम्पनीका वित्तीय विवरणहरु आउने क्रम जारी छ । हालसम्म यस्ता विवरण प्रकाशित गरेकामध्ये अधिकांशको अवस्था सुखद नै देखिन्छ, तर नेप्से भने दिनहुँ दलदलमा फसिरहेको छ । आखिर यो पटक यस्तो किन भइरहेको छ ? सिजनमै अफसिजनको नियति नेप्से र लगानीकर्ताले किन भोगिरहेका छन् ? कैयन सुखद घटनाक्रम हुँदा समेत नेप्सेमा किन सकारात्मक तरंग आउन नसकेको होला ?

बैंक तथा सेयर बजारका विज्ञ अनलराज भट्टराई मौद्रिक नीतिमा भएको परिवर्तित व्यवस्थाले व्यक्तिगत ओभरड्राफ्ट(ओडी)को सीमामा संकुचन गरिदिएसँगै यसको सोझो प्रभाव सेयर लगानीकर्ताहरुमा परेको दाबी गर्छन् । उनका अनुसार व्यक्तिगत ओडीको सीमालाई ७५ लाखबाट ५० लाखमा गरिएसँगै ७५ लाख लिइरहेकाहरुले आगामी पुस मसान्तसम्म त्यसलाई ५० लाखको सीमामा झार्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइएको छ । यसले समेत व्यक्तिगत ओडी लिएर सेयरमा लगानी गर्नेहरुमाथि इएमआईको भार थोपरिएको छ । यो व्यवस्थाले समेत लगानीकर्ताहरुमा अन्यौलको सिर्जना गरेको उनी बताउँछन् । 

उनको विश्लेषणमा करसम्बन्धी विवाद यथावत रहँदा समेत यसले बजारमा नकारात्मक प्रभाव छाडिरहेको छ । आन्तरिक राजश्व विभागले सर्कुलरमार्फत हकप्रद र बोनसको आधार मूल्यमै पूँजीगत लाभकर लगाउने भनी दिएको निर्देशन लगानीकर्ताको आन्दोलनपछि स्थगन मात्र भएको छ । यो बिषयले समेत समयमै निश्कर्ष पाउन नसक्दा लगानीकर्ता थप सशंकित हुने अवस्था सिर्जना भएको भट्टराई बताउँछन् । तर, उनको नजरमा बजारप्रति आशा गर्न सकिने ठाउँहरु प्रशस्तै छन् ।‘प्रणालीमा पर्याप्त तरलतासँगै लगानीकर्तामा ब्याजदर घट्ने निकै ठूलो आशा छ ।’ उनले भने–‘निरन्तर घट्दो बजारका कारण पूँजीबजारबाट संकलन हुने राजश्वमा ठूलो गिरावट आएको छ र यसप्रति नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र सम्बन्धित निकाय समेत चिन्तित छन् । लगानीकर्तालाई उत्साहित बनाउने बिषयमा उनीहरुले पनि केही न केही सोचिरहेका छन् ।’

ब्रोकर नम्बर ४९ का अनन्तकुमार पौडेल भने प्राथमिक बजारमा आइपीओ र एफपीओको बाढी आएको र दोश्रो बजारमा हकप्रदको थामिनसक्नु आपूर्तिलाई न्यून मागले सम्बोधन गर्न नसकेकोले बजार निरन्तर घटेको दाबी गर्छन् । 

‘ब्याजदर र शेयरबजारबीच सधैं विपरित सम्बन्ध हुन्छ ।’ पौडेलले बिजशालासँग भने–‘ब्याजदर घट्दा सेयर बजार बढ्छ भने ब्याजदर बढ्दा सेयर बजार घट्छ । अहिले लगानीकर्ताको अपेक्षा अनुसार बैंक तथा बित्तीय संस्थाहरुले ब्याजदर घटाइरहेका छैनन् ।’ 

उनका अनुसार बजार दिनहुँजसो घटेर चौपट भई २० प्रतिशतसम्म मूल्य घटेपछि ठूला लगानीकर्ताहरुलाई बैंकबाट मार्जिन कल समेत आउने थालेको र यसले समेत बजार घटाएको हो । 

पौडेलको भनाईमा अहिले दोश्रो बजार कारोबारमा  म्युचुअल फण्डहरु निष्क्रिय छन् र अन्डरराइट(प्रत्याभूति) गरेका कम्मिटमेन्ट एमाउन्ट समेत तिर्न धौ धौ परिरहेको बेला उनीहरुले बजारमा थप लगानी गर्नसक्ने अवस्था छैन । ठूला(संस्थागत) लगानीकर्ताको रुपमा रहेका यस्ता म्युचुअल फण्डहरु आर्थिक रुपमा कमजोर भएका कारण समेत बजार थिलथिलो भएको उनको तर्क छ । 

विगत लामो समयदेखि मोफसलमा रही सेयर कारोबार गर्दै आएका सुनसरीको धरानका अग्रज सेयर लगानीकर्ता प्रवीण अग्रवालले त बिजशालासँग कुरा गर्दै आगामी २ वर्षसम्म बजार बढ्नै नसक्ने ठोकुवा नै गरे । उनले भने–‘तपाई मान्नुहोस् या नमान्नुहोस्, अनलाइन प्रणालीले पनि बजारलाई टेवा दिन सक्दैन । बजार अझै २ वर्ष बढ्दैन ।’