– अर्जुन तिमिल्सिना

काठमान्डौ । सेयर बजार ३२०० को उचाइबाट झरेर अहिले २५०० को लाइनमा आएको छ। सेयर बजार घट्नु मुख्य कारण भनेको लगानीकर्ताको मनोबल खस्कनु नै हो। 

कोभिड महामारीले सबैतिर बन्दाबन्दीपछि बैंकहरुमा तरलता थुप्रियसँगै ब्याजदरमा गिरावट आएपछि एकाएक सेयर बजार चम्केको थियो। कोभिड महामारीको समयमा नेपालको मात्रै पुँजीबजार नभएर संसारकै सेयर बजारमा उछाल आएको थियो। खासगरी अन्य क्षेत्रमा लगानीको वातावरण नभएपछि पुँजीबजारमा उछाल आउनु स्वाभाविक नै थियो। 

अहिले पनि ब्रोकर हाउसहरुमा फेरि पनि कोभिडको तेस्रो लहरको चर्चा चलेको पाइन्छ। भलै यो कति सम्भावना छ भन्ने अलग विषय भयो। 

ब्रोकर हाउसदेखि क्लब हाउसमा बजारको घटबढको विषयलाई लिएर आ–आफ्नो तर्क–विर्तक गरेको पाइन्छ। अर्थतन्त्र र वित्तीय ज्ञान भएका केही लगानीकर्ता अहिले नै बजार बढ्नेमा कमै आश्वास्त देखिन्छन् भने केहीले अहिले नै बुल नसकिएकोले बजार बढ्न बाँकी नै रहेको पनि तर्क गर्छन्। 

सुमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) का सञ्चालक प्रेम अग्रवाल अहिले बजारलाई प्रभाव पार्ने मुख्य विषय भनेको ब्याजदर नै रहेको बताउँछन्। ‘लामो समय बढेकोले बजारमा करेक्सन आउन आवश्यक थियो’, उनले भने, ‘तर, यही समयमा केही नेगेटिभ समचार पनि आए।’

सीसीडी रेसियोबाट सीडी रेसीयोमा जाँदा बैंकहरुको ऋण दिन सक्ने क्षमतामा कमी आएको अग्रवाल बताउँछन्। ‘जसका कारण तरलतामा दबाबसँगै ब्याज बढेकोले नै बजारलाई असर गरेको हो’, उनले भने। 

लामो समय भएको लकडाउन खुलेसँगै चीनलगायत देशबाट सामान भित्र्याएर व्यापार गर्नेहरुले पनि सेयर बजारबाट पैसा झिकेको अग्रवालको तर्क । ‘दसैँ–तिहारजस्ता महान पर्वका लागि जोहो गर्न पनि बजारबाट पनि पैसा बाहिर गयो’, उनले भने, ‘यिनै कारणले पनि सेयर बजारमा असर पर्यो।’ 

अग्रवालका अनुसार बजार सेन्टिमेन्टमा चल्ने भएकोले लगानीकर्ताको मनोविज्ञानलाई असर गरेको छ। ‘बजारमा बिक्रीचाप पर्न थाल्यो’, उनले भने।

अब चाडपर्वको सिजन सकिएपछि बैंकिङ च्यानलभन्दा बाहिर गएको पैसा पनि आउने र विकास खर्च बढ्दै जाँदा तरलता सहज हुन सक्ने अग्रवालको भनाइ छ। ‘राष्ट्र बैंकले कुनै पनि बेला तरलता सहज हुने नीति ल्याएमा बजारमा फेरि विश्वासको वातावरण बन्न सक्छ’, उनले भने, ‘अनि फेरि बजारमा चमक आउन सक्छ।’

नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) का सञ्चालक ईश्वरी रिमालको विचार पनि अग्रवालको भन्दा भिन्न छैन। उनको विचारमा पनि अहिले बजार घट्नुमा मुख्य कारण ब्याजदर नै हो। 

राष्ट्र बैंकको सेयर धितो कर्जाको सीमाले पनि सेयर बजारमा असर परेको रिमालको भनाइ छ। ‘बैंकमा तरलता अभाव छ, सीडी रेसियोले बैंकको पैसा तानिदियो, स्वीकृत भएको पुनरकर्जाको रकमसमेत आउन सकेको छैन’, उनले भने। 

केही दिनदेखि बजारमा भोलुम पनि हराएको भन्दै रिमालले यो चिन्ताको विषय बनेको बताए। ‘तिहार र छठपछि बजार फर्किन्छ कि भन्ने आश भने गर्न सकिन्छ’, उनले भने, ‘चाडपर्व सकिएसँगै राजधानीभन्दा बाहिर गएका पनि आउलान्। विस्तारै तरलता सहज भएमा बजारमा माहोल पनि आउन सक्छ।’

स्टक ब्रोकर एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट अहिले लगानीकर्तामा आत्मविश्वास कम भएकोले नै बजार माथि जान नसकेको बताउँछन्। ‘लगानीकर्ताको आत्मविश्वास घट्नुको मुख्य राष्ट्र बैंकको अस्थिर नीति नै हो’, उनले भने, ‘त्यसैले राष्ट्र बैंकले अहिलेको सेयर धितो कर्जाको सीमा र सीडी रेसियोका विषयमा पुनर्विचार गर्नै पर्छ।’ 

राष्ट्र बैंकसँग तरलता व्यवस्थापनका अन्य औजार पनि रहेको उल्लेख गर्दै रानाभाटले जुनसुकै उपाय लगाएर भए पनि तरलता सहज बनाउनैपर्ने बताए। ‘कि भने सेयर बजार जेसुकै होस् भनेर छोड्नु पर्यो’, उनले भने। 

रानाभाटको विचारमा अहिले लकडाउन खुलेरमात्रै बजारमा यो अवस्था आएको भने होइन। ‘पहिलोपटक लगाएको लकडाउन पनि खुलेको थियो तर यस्तो भएको थिएन’, उनले भने, ‘खास गरेर राष्ट्र बैंकको नीतिमा स्थायित्व हुनुपर्यो।’