– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजार अहिले रकेटको गतिमा उकालो लागिरहेको छ। केही समयपहिला ३२०० को विन्दु चुमेर ओरालो यात्रा तय गरेको बजार पुसको मध्यबाट पुनः उकालो लाग्न थालेको हो। 

गत डिसेम्बर १३ मा २२६० को न्यून विन्दु बनाएको बजारले एक महिनाकै अवधिमा २९२७ को विन्दुमा चुमेको छ। यो हिसाबले बजार हालको न्यून विन्दुबाट ६६९ अंकले बढेको छ। 

यसरी रकेटको गतिमा बजार बढ्नुमा केही बजार जानकार र विश्लेषकहरुले आ–आफ्ना तर्क प्रस्तुत गरेका छन्। 

वित्त विश्लेषक हेमन्त बस्याल तरलता सहज भएकै कारण बजार बढेको बताउँछन्। ‘योभन्दा पहिलेको घटाइको एउटामात्रै कारण तरलतामा दबाब पर्दा थियो’, बस्याल भन्छन्, ‘अहिले तरलता केही सहज भएको महसुस लगानीकर्ताले गरेको छन्। तरलता केही सहज हुँदै गएको पनि छ।’

बस्यालका अनुसार अहिले अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायका पछिल्ला नीतिहरुले पनि बजार बढ्नमा टेवा पुगेको छ। ‘पहिले अर्थ मन्त्रालय, राष्ट्र बैंकको पुँजीबजारप्रति धारणा के हो भन्ने स्पष्ट थिएन। अहिले प्रस्ट छ’, उनले भने, ‘यसले पनि लगानीकर्ताको मनोबल बढेको छ। जसका कारण बजार पनि दह्रो बन्दै गएको छ।’

व्यवहारिक रुपमा जे भए पनि लगानीकर्ताको मनोविज्ञान सेयर बजारप्रति सकारात्मक बन्दै जानुले पनि बजार बढ्न मद्दत पुगिरहेको बस्यालको तर्क छ। ‘यसका साथै लगानीकताले कोभिडका कारणले अन्य क्षेत्र ठप्प भएसँगै पहिलेको जस्तै बजार बढ्ने अपेक्षाले पनि लगानी बढाएका हुन् सक्छन्’, उनले भने, ‘ब्याजदर स्थिरताले पनि बजारमा लगानीकर्ताको अकर्षण बढेको छ। रेमिट्यान्स पनि पनि बढ्ने देखिन्छ।’

अहिले बढाइ केही अल्पकालीन लगानीकर्ताको प्रवेश पनि हुन सक्ने बस्यालको तर्क छ। ‘हाम्रो बजारमा संस्थागत लगानीकर्ता कम भएकै कारण पनि बजार बढ्दा पनि धेरै बढ्ने र घट्दा पनि धेरै घट्ने भएको हो’, उनले भने। 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अहिले बजार बढ्ने समय नै रहेको बताउँछिन्। ‘पुस मसान्तको प्रभाव पनि सकियो। तरलताको अवस्था पनि सहज भएको छ’, उनले भनिन्, ‘दैनिक कोभिडको प्रभाव बढेको छ। यसले पनि लगानीकर्ताले विगतमा जस्तै फेरि बजार बढ्ने आंकलन गरेको हुन सक्छन्।’

अर्कोतर्फ अब दोस्रो त्रैमासको रिपोर्ट आउने बेला भएकोले पनि बजारमा सकारात्मक प्रभाव पर्ने पोखरेलको भनाइ छ। ‘पछिल्लो समयमा राष्ट्र बैंक पनि पुँजी बजारप्रति सकारात्मक देखिएको छ’, उनले भने, ‘यसले पनि लगानीकर्ता उत्साहित भएका हुन सक्छन्।’

बजार जानकार प्रेम ओली फेरि लकडाउनको चर्चाले पनि सेयर बजार उकालो लागिरहेको बताउँछन्। ‘लकडाउन भयो भने अन्य व्यापारिक क्षेत्र ठप्प हुने देखिन्छ’, उनले भने, ‘लकडाउन भएमा विगतमा जस्तै बजार बढ्ने आँकलनले पनि लगानीकर्ता हौसिएका देखिन्छन्।’ 

अहिले सेयर बजारमा लगानीकर्ताको आकर्षण र दायर बढेको ओली बताउँछन्। ‘विस्तारै तरलता पनि सहज हुँदै गएको छ’, उनले भने, ‘पहिले नै सेयर धितो राखेर बसेका राखेकाहरुलाई बैंकले पैसा दिन सुरु गरेको छ।’ 

समग्रमा अब बजारले गति नै लिने देखिएको पनि ओलीको भनाइ छ।