काठमाण्डौ । प्राथमिक बजारमार्फत् नयाँ कम्पनीका आइपीओ खरिद गरी बिक्री गर्नका लागि धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्ने लहर नै चलेको छ । सेयर बजारबाट पैसा छाप्ने सपना बोकेर दोश्रो बजारमा आउनेहरुको संख्या दैनिक सयौं हुन थालेसँगै बजारप्रति दैनिक हजारौंको चासो समेत हुन थालेको देखिन्छ । 

तर, प्राथमिक बजारमा लगानी गर्नु जति सहज हुन्छ, दोश्रो बजारमा त्यस्तो हुँदैन । दोश्रो बजारमा लगानी गर्नु केही असहज र जोखिमपूर्ण हुन्छ । 

हिजोआज सेयर बजारमा मनग्यै कमाई हुने हल्लाकै भरमा प्राथमिक बजार हुँदै दोस्रो बजारमा प्रवेश गर्नेको ताँती नै लागेको छ । यही लामो ताँती र बाक्लो भीडमा मौकाको फाइदा लुट्नका लागि दलाली र ठगी गर्नेहरुको सक्रियता पनि कम छैन । 

केही समयदेखि सामाजिक सञ्जालका सेयर बजारसँग सम्बन्धित केही ग्रुपहरुमा ‘रमेश श्रेष्ठ’ नाम गरेका एक दलालको प्रवेश भएको छ । उसले ग्रुपमा ब्रोकर आइडी र टीएमएसको लगइन खोल्न इच्छुकले सम्पर्क गर्न अनुरोधसमेत गरेको छ। उक्त व्यक्तिले ब्रोकरको आइडी र टीएमएसको लगइन लिन इच्छुकले सम्पूर्ण व्यक्तिगत विवरण माग गर्दै उक्त सेवा गरिदिएबापत रु.२०० दिनुपर्ने आग्रह गरेको छ । उक्त सेवाबापतको रु.२०० भुक्तानीका लागि ९८०७३२५९८३ ईसेवा आइडीमा पठाइदिनुपर्ने शर्त राखेको छ । 

उसले आफू ब्रोकरको मान्छे नभएको तर अनलाइनबाट फर्म मात्रै भरिदिने बताएको छ । सामाजिक सञ्जालमार्फत अबैधानिक र अनावश्यक रकम असूली गर्ने नियत राखी उक्त व्यक्तिले सोझासाझा लगानीकर्ताहरुलाई ठग्ने नियत राखेको प्रष्ट हुन्छ । 

हिजोआज सेयर बजार बढिरहेका बेला आम सर्वसाधारणको बाक्लो भीडमा छिर्दै उनीहरुलाई सहजीकरण गरिदिने नाममा सो व्यक्तिले कतिपयलाई ठगीसमेत गरिसकेको देखिन्छ । यो व्यक्तिको नियत र सेवाले निःशुल्क रुपमा पाइने सेवाको विषयमा भ्रम मात्र सिर्जना गरेको छैन, ब्रोकर इण्डष्ट्रीकै बदनाम समेत गरिदिएको छ ।

ठग्ने नियतले उक्त व्यक्तिले दिएको नम्बर ९८०७३२५९८३ मा सम्पर्क गर्दा यो समाचार तयार पार्दासम्म स्वीच अफ नै रहेको छ ।

ब्रोकर आइडी र टीएमएसको शुल्क लाग्छ ?
यदि दोस्रो बजार प्रवेश गर्ने व्यक्तिसँग बैंक खाता र डिम्याट खाता भए जुनसुकै (५० वटै ब्रोकर कम्पनी)मा कारोबार खाता तथा ब्रोकर आइडी निःशुल्क रुपमा खोल्न सकिन्छ । 

यसैगरी नेप्सेको टीएमएसमार्फत अनलाइन सेयर खरिदबिक्री गर्नुपरे पनि टीएमएस लगइन तथा पासवर्ड निःशुल्क छ । यसैकारण ब्रोकरकहाँ खोलिने कारोबार खाता तथा टीएमएसको लगइन दुवै निःशुल्क सेवाअन्तर्गत पर्दछन् । यसरी निःशुल्क पाइने सेवामा सहजीकरण गरिदिने भन्दै आउने प्रलोभनहरुमा फस्नु हुन्न । बजार बढेका बेला यी र यस्ता ठगी गिरोह सक्रिय हुनसक्छन्, लगानीकर्ताहरुले यस्तो बेलामा सचेत हुनुपर्दछ ।