– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको सेयर बजार जब बढ्न थाल्छ तब आधारभूत रुपमा कमजोर कम्पनीहरुको सेयरभाउ उचाल्ने काम सुरु हुन्छ। जसका कारण उच्च विन्दुमा त्यस्ता कम्पनीका सेयर खरिद गर्नेहरुको लगानी बजार घट्न थालेपछि जोखिममा पर्ने गर्छ। 

यसअघिको ३२०० को बुलमा पनि आधारभूत रुपमा कमजोर केही जलविद्युत, फाइनान्स र विकास बैंकका सेयरभाउ निकै उचालिएको थियो। कतिपय त्यस्ता कम्पनीको सेयरभाउ त आधारभूत रुपमा राम्रा कम्पनीको भन्दा दोब्बर बढी नै भएको थियो। 

उदाहरणका लागि आधारभूत रुपमा कमजोर देखिएका समृद्धि फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, शिवश्री हाइडोपावरजस्ता कम्पनीलाई लिन सकिन्छ। 

बजार ३२०० बाट १८०७ मा आउँदा समृद्धि फाइनान्सको सेयरमूल्य १७९ रुपैयाँ आएको थियो। १८०७ को न्यून विन्दुबाट बजार २२०० को आसपासमा रहँदा यो कम्पनीको सेयरभाउ बढेर ३४५ रुपैयाँ पुगेको छ। यस हिसाबले यो कम्पनीको सेयरभाउ ९० प्रतिशत बढिसकेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट हेर्ने हो भने यो कम्पनीको ईपीएस १८.९० रुपैयाँले ऋणात्मक रहेको छ। जब कि अघिल्लो वर्ष पनि यही अवधिको ईपीएस ०.५२ रुपैयाँ थियो। 

समीक्षा अवधिमा ७ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको समृद्धि फाइनान्सको खराब कर्जा अनुपात (एनपीएल) ३.५९ प्रतिशत पुगेको छ। रिटर्न अन इक्विटी पनि २५.१५ प्रतिशतले ऋणात्मक छ। 

सप्तकोसी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था पनि नाजुक नै रहेको देखिन्छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको ईपीएस ६२.७१ रुपैयाँले ऋणात्मक छ। यो अवधिमा १३ करोड ७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको यो बैंकको रिटर्न अन इक्विटी पनि ७२.ं५२ प्रतिशत ऋणात्मक देखिन्छ। 

बजार १८०७ मा झर्दा यो बैंकको सेयरभाउ पनि १७८ रुपैयाँसम्म आएको थियो। अहिले फेरि बढेर २६९ रुपैयाँसम्म पुगेको छ। यो बैंकको सेयरभाउ पनि ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ। 

शिवश्री हाइड्रोपावरको वित्तीय स्वास्थ्य त्यति राम्रो छैन। तर, बजार १८०७ को तल्लो विन्दुमा झरेको बेला १५५ रुपैयाँसम्म आएको यो कम्पनीको सेयरभाउ अहिले बढेर २६९ रुपैयाँसम्म पुगेको छ। लगभग ६५ प्रतिशतले सेयरमूल्य बढेको छ। 

दोस्रो त्रैमासको रिपोर्टअनुसार यो कम्पनीको ईपीएस पनि ९.४४ रुपैयाँ र रिटर्न अन इक्विटी १५.४२ रुपैयाँले ऋणात्मक छ। कम्पनीले ३ करोड ४८ लाख रुपैयाँले घाटा व्यहोरेको छ भने रिजर्भ ५७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ। 

विगतमा पनि यस्ता कम्पनीमा लगानी गर्ने अधिकांश लगानीकर्ता उच्च विन्दुमा पस्दा आधाभन्दा धेरै सम्पत्ति गुमाएका थिए। कतिपय लगानीकर्ता त डिप्रेसनमा गएका  घटनाहरु पनि प्रशस्तै छन्। 

यस्ता कम्पनीमा उच्च विन्दुमा गरिएको लगानी बजार घट्दा बलिया कम्पनी कम्पनीमा भन्दा बढी जोखिम हुने र लाभांश पनि नपाउँदा हुँदा लगानीकर्ताहरु दोहोरो मारमा पर्ने गरेका छन्। यस्ता कम्पनीमा टाठाबाठाले मात्र नाफा कमाउन सक्ने हुनाले दीर्घकालका लागि लगानी गर्नु निकै जोखिम हुन्छ।  

नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार लगानीकर्ता संख्या बढ्दै गए पनि बजारका विषयमा अध्ययन र ज्ञान बढ्न नसक्दा कमजोर कम्पनीहरुमा नयाँ लगानीकर्ता फस्ने गरेको बताउँछन्। ‘विशेषगरी सेबोन, नेप्से र ब्रोकरले सेयर शिक्षा कार्यक्रम चलाउनुपर्ने देखिन्छ’, उनले भने, ‘लगानीकर्तालाई लगानी र त्यसबाट हुने नाफा–घाटाका बारेमा सजिलै जान्न सक्ने बनाउनुपर्छ।’ 

रौनियार कम्पनीको आधारभूत पक्ष राम्रोसँग अध्ययन गरेरमात्र लगानी गर्न सुझाव दिन्छन्। ‘अहिले कारोबार भइरहेका कमजोर कम्पनीहरुका सेयर संख्या कम भएका कारण ठूला र बाठा लगानीकर्ताले बजार घटेको बेला ठूलो संख्यामा खरिद गरेर राख्ने र बढेको बेला सेयर सर्टेज गरेर माथि पुगेपछि बिक्री गर्ने गरेको देखिन्छ’, उनले भने, ‘त्यसैले लगानीकर्ता आफैँ चनाखो हुनुपर्छ।’

बजार जानकार केशव कोइराला बजार बढेको बेला कमजोर कम्पनीका सेयरभाउ बढाउने प्रवृत्ति पुरानै रहेको बताउँछन्। ‘हरेक बुलमा आधारभूत रुपमा कमजोर कम्पनीकै सेयरभाउ बढेको देखिन्छ’, उनले भने, ‘बजार बढ्दै जाँदा कमजोर कम्पनीमा ठूला र बाठा लगानीकर्ताले धेरै संख्यामा सेयर खरिद गरेर राख्ने, नयाँ लगानीकर्ताको मनोविज्ञानलाई अब सेयर नपाइने भयोजस्तो बनाइदिने र दिनदिनै सकारात्मक सर्किट लगाएर निकै माथि पुर्याएपछि नयाँ र सोझा लगानीकर्तालाई भिडाउने प्रचलन नै विगतदेखिकै हो।’

त्यस्ता गतिविधिमा नफस्न कोइरालाले पनि लगानीकर्तालाई सुझाव दिँदै आएका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) प्रवक्ता मुक्तिनाथ श्रेष्ठ बजारमा हुने चलखेल रोक्नका लागि धितोपत्र बोर्डले अध्ययन र निगरानी गरिरहेको बताउँछन्। ‘केहीलाई कारबाही पनि गरेका छौँ’, उनले भने। 

यस विषयमा धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकमा पनि कुरा उठाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए।