– अर्जुन तिमिल्सिना

काठमाण्डौ । आज बजारमा १०० अंकभन्दा बढीको उतारचढाव भयो। पछिल्लो समय करिब २८०० को विन्दुबाट १० कारोबार दिन घटेको बजारमा आज एकाएक बढोत्तरीको छ। हिजो भारी अंकले घटेको बजार आज सुरुआती चरणमा पनि ७० अंकभन्दा बढी घटेको थियो तर पुनः ३२.२२ अंकले बढेर बजार बन्द भएको छ। 

प्राविधिक रुपमा विभिन्न औजारहरुले आज अल्पकालीन लगानीकर्ताहरुलाई खरिदको संकेत गरेको देखिन्छ। बजार सधैँ बढ्या–बढ्यै पनि गर्दैन र घट्या–घट्यै पनि गर्दैन भन्ने आधार आजको बजारले देखाएको छ। 

आज पनि हामीले केही अल्पकालीन औजार जस्तै– मैनबत्ती विश्लेषण, एमएसीडी लाइन, आरएसआई, बोलिंगर ब्यान्डजस्ता अल्पकालीन औजार तथा इलिअट वेभबाट बजारको लामो समयको विश्लेषण गरेका छौँ। हालका लागि अल्पकालमा पनि बजार बढ्नै नै देखिन्छ भने दीर्घकालमा बजार तलमाथि गर्दै माथिकै यात्रा तय गर्ने देखिन्छ।  

मैनबत्ती विश्लेषणका आधारमा 

गत नोभेम्बर १७ मा बजारले इन्भर्टेड ह्याम्मर अर्थात उल्टो घन बनाएको थियो (हेर्नुहोस् रातो एरो)। त्यसपछि झन्डै बजार ३०० अंक घटेको छ। आज फेरि बजारले त्यसको उल्टो तल लामो पुच्छरसहितको ह्याम्मर बनाएको छ (हेर्नुहोस् हरियो एरो)। यसले भविष्यमा बजार बढ्न सक्ने संकेत गर्छ। 

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। यदि बजारले इन्टरमियिट डिग्रीको वेभ (४) २४८१ मा सकिएको हो र वेभ (५) को यात्रा तय गर्छ भने यसभित्र पनि स–साना वेभ मिनेट तथा माइनुट वेभ बनाउँदै बजार बजार चल्ने देखिन्छ। यसअन्तर्गत बजारले वेभ (i) को यात्रा २८७६ सम्मको रहेको देखिन्छ। सोही डिग्रीको वेभ (ii) मा अहिले करेक्सन भएको देखिन्छ। जसअन्तर्गत यो यदि २५१४ मा सकिन्छ भने अबको यात्रा वेभ (iii) ३२५० सम्मको र वेभ (iv) ३०५० सम्म र यहाँबाट वेभ (v) लगभग ३७०० सम्म पुग्ने देखिन्छ। यो भनेको इन्टरमिडियट डिग्रीको वेभ (५) भएकोले यसको सयम ६ महिनादेखि एक वर्षको सयम लिन सक्ने देखिन्छ। योबीच बजार धेरैपटक तलमाथि गर्दै माथि जाने हाम्रो बुझाइ रहेको छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २७८६ सम्म, ०.३८ प्रतिशतको टेवा २७३० सम्म, ०.५ प्रतिशतको टेवा २६८२ सम्म, ०.६१ प्रतिशतको टेवा २६२६ सम्म र ०.७८ प्रतिशतको टेवा २५६४ सम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई केही समय पहिला माथिबाट काटेको र बियरिस क्रसओभर नै रहेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ नै रहेका छन् तर केही घट्दै गएकोले एमएसीडी लाइन र सिग्नल लाइनको दूरी विस्तारै कम हुँदै गएकोले अब यदि १–२ दिनको कारोबारमा पनि बजर बढ्छ भने बुलिस क्रसओभर हुनसक्ने सम्भावना रहन्छ।

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला अपर ब्यान्डलाई छोएर तल झरेको छ र मध्य रेखाभन्दा पनि तल नै रहेको देखिन्छ। माथिल्लो ब्यान्ड र तल्लो ब्यान्डको दूरी बढ्दै गएकोले उच्च उतारचढाव रहेको देखिन्छ। तर आज तल्लो ब्यान्डमा तल लामो हरियो मरुबुजु क्यान्डल बनेकोले छ। यस आधारमा आउने दिनमा बजारमा सुधार आउने देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ३३ रहेको छ। जसको अर्थ हुन्छ ओभर सोल्ड जोनमा छ र अघिल्लो पल्ट यो विन्दु ६० को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई २९ मा रहेको थियो। यहाँबाट बजार फर्केर आरएसआईले हुक आकर बनाएको देखिन्छ। यसले बजार फर्किन लागेको संकेत गर्छ। 

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। आज हामीले दैनिक पिभटका आधारमा बजारको प्रतिरोध र सपोर्टलाई हेरेका छौँ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २८०३
  • प्रतिरोध २– २९७७
  • प्रतिरोध ३– ३०७७

पिभट प्वइन्ट :  २७०३

घटेमा सपोर्ट 

  • सपोर्ट १– २५३८
  • सपोर्ट २– २४३०
  • सपोर्ट ३– २२५४

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।