-भक्तराज रसाइली 
काठमाण्डौ । पूँजीबजारको देशव्यापी विस्तारमा नेपाल धितोपत्र बोर्ड अवरोध बनेको नेपाल स्टक एक्सचेञ्जको आरोप छ ।

प्रविधिमैत्री बन्दै गइरहेको पूँजीबजारको थप विस्तारका लागि बैंकका सहायक कम्पनी र प्रादेशिक ब्रोकरका लागि नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन कुरेको वर्र्षौँ बितेको बताएको छ । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन नेप्से तयार रहेको तर, बोर्डले निर्देशन दिन अटेरी गरेका कारण ढिलाई भएको बताएका छन् । उनले प्रादेशिक ब्रोकर नियुक्तिका लागि नेप्सेद्वारा १ वर्षअघि नै कार्यविधि बनाएर बोर्डसमक्ष पेश गरिसक्दासमेत सो विषयमा बोर्डले अहिलेसम्म कुनै चासो नै दिएको छैन । 

बजारको व्यापकता बढेसँगै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन अति आवश्यक रहेको जिकिर गरेका उनले नियामक धितोपत्र बोर्डको निर्देशन कुरेको बताए । बैंकका सहायक कम्पनी र प्रादेशिक ब्रोकरको विस्तारका लागि नेप्से अहिले पूर्ण तयारी अवस्थामा रहेको उनको भनाइ छ।

कारोबार रकम र लगानीकर्ताको उल्लेख्य संख्याले समेत बैंकलाई ब्रोकर लाइसेन्स र प्रादेशिक ब्रोकर जरुरी रहेको पुष्टि गर्ने उनले दाबी गरे । ‘नेप्सेमा संस्थागत ब्रोकर भित्रिए लगानीकर्तालाई सहज हुने कुरामा विश्वास गर्छ ।’–उनले बिजशालासँग भने ।

लगानीकर्ताहरुको बढ्दो उपस्थितिलाई हाल ५० ब्रोकर कम्पनीहरुका साधन र स्रोत पर्याप्त नरहेको साउदको ठहर छ । अहिलेका ब्रोकर कम्पनीहरुले आम्दानी भइरहेकै छ किन थप खर्च गरेर जोखिम लिनु ? भन्ने सोचाइले समेत आगामी दिन लगानीकर्ताहरुका लागि निकै दुःखदायी अवस्थाहरु सिर्जना हुने सुनिश्चित छ।’–साउदले बिजशालासँग भने ।

नेपाल संघीय संरचनामा गइसकेपछि नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीको पालामा गत २०७५ साल मंसिर अन्तिममा प्रादेशिक ब्रोकर विस्तारका लागि निर्देशन दिइएको थियो । आफ्नै निर्देशन २ वर्ष बितिसक्दा समेत हाल बजारको घनत्व बढिरहेको सन्दर्भमा थप ब्रोकरको आवश्यकतामाथि बोर्डले मौनता साँध्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

नेप्सेका अनुसार हाल दोस्रो बजारमा करिब ४ लाख लगानीकर्ताहरु सक्रिय सेयर कारोबार गर्छन् जसमध्ये १ लाख ७० हजार जनाले अनलाइन युजर र पासवर्ड लिएका छन् । यो संख्या दिनानुदिन बढिरहेको छ र बढ्दो बजारमा यो संख्या निकट समयमा नै दोब्बर हुने नेप्सेको प्रक्षेपण छ ।

बजार विस्तारको लोभलाग्दो प्रगति भएतापनि मध्यस्थकर्ताका रुपमा रहेका हाल ५० ब्रोकर कम्पनीहरुले मात्रै सिण्डीकेट लादेको पूँजीबजारमा अन्य प्रतिस्पर्धीहरुको उपस्थिति नहुने भएकाले समेत अन्य संस्थागत ब्रोकरको प्रवेश रोक्न हालका ब्रोकर कम्पनीहरु तीव्र लबिङमा लागेका बताइन्छ । हाल रहेका ५० ब्रोकर कम्पनीहरुले अन्य संस्थागत ब्रोकरको प्रवेश भएमा भारी परिमाणमा संस्थागत कारोबार गुमाउने डरले समेत बजार विकासको बाधक ब्रोकर बन्ने गरेको जानकार बताउँछन् । 

ब्रोकरले खुलेआम यस्ता चलखेल गरे पनि धितोपत्र बोर्ड भने मौन रहँदै आएको  छ ।