काठमाण्डौ । सामाजिक सुरक्षा कोषले पनि सेयर बजारमा लगानी गर्ने बाटो खुलेको छ । 

गत साता मन्त्रीपरिषदले ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७’ पारित गरेको थियो । यो कार्यविधिले अब कोषले सेयर बजार लगायतका उपकरणमा समेत लगानी गर्नसक्ने बाटो खोलिदिएको हो।

कोषले अब सुरक्षण, मुद्धति निक्षेप, सेयर, ऋणपत्र, क्यापिटल मार्केटका म्युचुअल फन्ड लगायतका उपकरणमा लगानी गर्नसक्नेछ ।

यो कार्यविधिले कोषलाई अरु संस्थागत तथा सहवित्तीयकरण कर्जा प्रवाह गर्न पनि बाटो खोलेको छ । कोषका कार्यकारी निर्देशक ज्ञावालीका अनुसार कोषले संस्थागत रुपमा विभिन्न क्षेत्रमा लगानी गर्न सक्नेछ । 

यस्तै, कोषले कर्मचारी सञ्चयकोषले जस्तै भवनहरु बनाएर आम्दानी गर्नसक्ने बाटो पनि कार्यविधिले खोलिदिएको छ । कोषले परियोजनालाई जमानत कर्जा पनि दिनसक्ने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले प्रष्ट पारेका छन् । 

दुई वर्षअघि सुरु भएको सामाजिक सुरक्षा योजनामा हालसम्म १२ हजार ९३५ रोजगारदाता र १ लाख ८० हजार ५३१ श्रमिक आबद्ध छन् । आधा बढी श्रमिकले कोषमा योगदान सुरु गरिसकेका छैनन् । आधाभन्दा कम योगदानकर्ता(करिब ७२ हजार)ले कोषमा हालसम्ममा ३ अर्ब २० करोड रुपैयाँको योगदान गरिसकेका छन् । यही पैसा सेयर बजार र लगानीका अन्य उपकरणमा कोषले लगानी गर्न लागेको हो । 

कोष पनि सेयर बजारमा प्रवेश गरेमा यसले बजारको स्थायीत्व तथा विस्तारमा महत्वपूर्ण भूमिका खेल्नसक्ने ठानिएको छ ।