काठमाण्डौ । साताको पहिलो दिन भारी करेक्सन व्यहोरेको बजार आज दोस्रो दिन सोमबार बाउन्सब्याक हुँदै दोहोरो अंकले उकालो लागेको छ।

आज नेप्सेपरिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.४७ अंकले उकालो लाग्दै ४५३.७५ को उचाइमा पुगेको छ। कारोबार रकम भने घटेर साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार विश्लेषक प्रेम ओलीले लगातार करेक्सन व्यहोरेको बजार आज स्वाभाविक रुपले नै बाउन्सब्याक भएको बताए। ‘यो सबैलाई थाहा भएकै कुरा हो’, उनले भने, ‘बजार लयमै छ, बुलिस ट्रेन्डमै छ।’

ओलीले ब्याजदर बढ्ने र राजनीति अस्थिरताको हल्ला फैलाउँदै बजार हिजोअस्ति केही प्रभावित भए पनि त्यो असफल भएको ओलीको भनाइ छ। ‘लगानीकर्ता आत्तिएको अवस्थामा बजार घट्छ’, उनले भने, ‘त्यही बजार बढ्दो बजारमा हल्लाको पछाडि दौडिनेभन्दा पनि सोचविचार गरेर लगानी गर्नुपर्छ।’

ओलीले करेक्सन आउनु भनेको बजार मजबुत हुनु नै रहेको बताए। बैंक अझै बढ्न नसकेकोले वास्तविक बुल आउन अझै बाँकी रहेको ओली बताउँछन्। ‘बैंकहरु अवश्य बढ्छन्, अब बजार माथि नै जाने हो’, उनले भने।

बजार जानकार मनीष चुडाल बैंक ब्याजदर तत्काल बढ्ने सम्भावना नरहेकोले लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। विगतमा छोटो समयमै बजारले उचाइ लिएकै कारण केही दिन बजारमा करेक्सन आएको उल्लेख गर्दै उनले आजबाट बजार लयमा फर्किएकोले छिटै थप उचाइ चुम्ने तर्क गरे। ‘देशको राजनीति पनि ट्रयाकमा आइसकेको छ, यसले बजारमा सकारात्मक प्रभाव पार्छ’, उनले भने, ‘अब लगानीकर्ताहरु आत्तिने होइन सोचविचार गरेर अगाडि बढ्नुपर्छ।’  

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक ३५९.१७ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह १८३.८३ अंकले बढेको आज बैंकिङ समूहमा २६.८२ अंक, व्यापार समूहमा ९७.३४ अंक, होटेल तथा पर्यटन समूहमा ५५.८१ अंक, विकास बैंक समूहमा ३८.२२ अंक, जलविद्युत् समूहमा ३०.७९ अंक, वित्त समूहमा २३.०६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६८.३१ अंक, अन्य समूहमा २७.६२ अंक, लघुवित्त समूहमा ८१.४९ अंक, म्युचुअल फन्ड समूहमा ०.०३ अंक र लगानी समूहमा १.८६ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज निफ्राको सर्वाधिक ४४ करोड ४८ लाख रुपैयाँको बढीको कारोबार भएको छ। शिखर इन्स्योरेन्सको ३० करोड ७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन ग्लोबल आईएमई बैंकको २३ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकको २० करोड २७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ७२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १८ कराड ५ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १७ करोड ७९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ९८ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड ३९ लाख रुपैयाँ र प्रभु बैंकको १३ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज चन्द्रा गिरी हिल्सका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन सिजिटन्स म्युचुअल फन्ड २ का इकाइधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको इकाइमूल्यमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।