काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १४.३७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २२३१.५७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४२ अंकले बढेर ४३५.०९ को विन्दुमा पुगेको छ। कारोबार भने १ अर्ब बढीको मात्रै भएको छ।
पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बजार अहिलेको परिदृश्यले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको जस्तो देखिएको बताउँछिन्। ‘नीति तथा कार्यक्रममा सरकारले पुँजीबजारका बारेमा केही सम्बोधन गरेको छ’, उनले भनिन्, ‘तर, त्यो पर्याप्त छैन। आगामी बजेटमार्फत पुँजीबजार सुधारका लागि ठोस कार्यक्रम ल्याइनुपर्छ।’
पोखरेलले आगामी बजेटमार्फत पुँजीगत लाभकर घटाउने, ४–१२ को क्याप हटाउनेलगायत काम गरिनुपर्ने बताइन्। ‘अहिले लगानीकर्ता धेरै प्यानिक अवस्थामा छन्’, उनले भने, ‘त्यसैले राहातको प्याकेज आउन जरुरी छ।’
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला हिजो र आजको सामान्य बढोत्तरीले बजार घट्न रोकिएको मान्न सकिने बताउँछन्। ‘अब बजार सुधारका लागि सरकारले बजेटमार्फत थप सम्बोधन गर्नुपर्छ’, उनले भने।
पुँजीगत लाभकर घटाउने सम्भावना रहेको भन्ने कुरा आइरहेको उल्लेख गर्दै बास्तोलाले भने, ‘पुँजीगत लाभकरमात्रै घटाएर हुँदैन बजार विकास र विस्तार ठोस निर्णयहरु आउनुपर्छ। वास्तविक क्षेत्रलाई पुँजीबजारमा ल्याउनुपर्छ।’
सरकारले पुँजीबजारलाई उत्पादनशील क्षेत्रका रुपमा उल्लेख गर्नु अर्थपूर्ण रहेको बास्तोला बताउँछन्। ‘अझै पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा सूचक बढे पनि कारोबार बढ्न नसकेको हो’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन व्यापार समूह सर्वाधिक १.५३ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह १.४३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.५३ प्रतिशत, विकास बैंक समूहमा ०.६६ प्रतिशत, जलविद्युत समूहमा १.१९ प्रतिशत, वित्त समूहमा ०.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५७ प्रतिशत, अन्य समूहमा ०.५३ प्रतिशत, लघुवित्त समूहमा ०.६४ प्रतिशत, जीवन बीमा समूहमा ०.६२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४८ प्रतिशत, लगानी समूहमा ०.१६ प्रतिशत र होटेल तथा पर्यटन समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता सेयर १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँमा किनबेच भएका छन्।
आज अप्पर तामाकोशीको सर्वाधिक ८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ४ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार हुँदा नबिल बैंकको ३ करोड ४४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ८८ लाख रुपैयाँ, अपी पावरको २ करोड ५६ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको २ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ५ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको २ करोड १ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १ करोड ९७ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन बलेफी हाइड्रोपावर र मैलुङखोला जलविद्युत कम्पनीका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा बढेको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago