काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ। 

नाडाले नेपालमा सवारीसाधनको एसेम्बली उद्योगका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो सुझाव दिएको हो। एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा रोजगारी सिर्जना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्नसमेत मद्दत पुग्ने नाडाले जनाएको छ।

सरकारले तत्कालको समस्या अर्थात राजश्वलाई मात्र दृष्टिगतगरी नीति बनाउँदा त्यसको दीर्घकालीन असरलाई समेत ध्यान दिनुपर्नेमा नाडाले जोड दिएको छ। ‘सरकारले यस्ता विभिन्न वस्तुगत तथ्यहरुलाई मनन गर्दै आउँदो बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गरोस् भन्ने नाडाको धारणा रहेको छ। 

नाडाले धेरै समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गदैं सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महसुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ। यसैको फलस्वरुप नेपालमा ४ वटा दुईपांगे्र सवारीसाधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु २ वटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेको नाडाले जनाएको छ। 

त्यसैगरी नेपालमा केही चारपांगे्र सवारीसाधनहरु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरु पनि खुल्ने क्रममा रहेका छन्। यसै क्रममा सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारीसाधन एसेम्बलिङ उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुटलगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यानाकृष्ट भएको जनाएको छ। 

सवारीसाधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयंमा धेरै पुँजी तथा लगानी चाहिने उद्योग रहेको नाडाले जनाएको छ। ‘नेपालमै सवारीसाधनको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधरणले समेत केही सस्तो मूल्यमा सवारीसाधन प्राप्त गर्नेमात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने हुन्छ’, नाडाले भनेको छ, ‘एसेम्बली उद्योगहरुले औद्योगिकीकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पुर्याइरहेको हुन्छ।’

एउटा एसेम्बल उद्योगका कारण त्यससँग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने नाडाको ठम्याइ छ। ‘अझ भनौँ यसको क्षेत्र बहुआयामिक हुन्छ’, नाडाले भनेको छ, ‘सरकारले यस्ता तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरीरहेका उद्योगी–व्यवसायीहरुको ठूलो लगानी डुब्नेमात्र नभई नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित नै छ।’

सरकारले सबै नागरिकले सवारीसाधन प्रयोग गरुन् भन्ने उद्देश्यले सोहीअनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउँदै जानुपर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक–पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ उद्योग खुल्ने त कुरै छाडौँ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने नाडाले जनाएको छ।