काठमाण्डौ । लगातार बढिरहेको सेयर बजार आगामी आर्थिक वर्षको बजेटको पूर्वसन्ध्यामा दोहोरो अंकले ओरालो लागेको छ। 

बजारमा आइतबार १७.३८ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक १९४१.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९० अंकले घटेर ३६९.४२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल बजार लगातार ७ दिन बढेकोले आज करेक्सन आएको बताउँछन्। ‘प्राविधिक रुपमा पनि १९८० कडामा प्रतिरोध थियो’, उनले भने। 

आगामी आर्थिक वर्ष बजेटमा सरकारले पुँजीबजारमा लगाइँदै आएको पुँजीगत लाभकरमा हेरफेर नगर्ने हल्लाले पनि बजार घटेको रिजाल बताउँछन्। ‘यदि बजेटमा पुँजीबजारलाई सम्बोधन गर्ने कुरा केही पनि आएन भने केही दिन साइडवेजमा चल्न सक्छ’, उनले भने। 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जलविद्युतसँग सम्बन्धित केही सम्झौता हुनसक्ने खबरहरु पनि आइरहेको रिजाल बताउँछन्। ‘यदि त्यसो भएमा फेरि हाइड्रो सेक्टर चल्न सक्छ’, उनले भने। 

अर्का बजार जानकार दामोदर गजुरेलले लगातार बढेको बजारमा नाफा बुक हुँदा आज करेक्सन आएको बताउँछन्। ‘अब बजेटले नै बजारको बाटो निर्धारण गर्छ’, उनले भने। 

आज किनेकाहरुको सावा आउँदा पनि उनीहरुले बेचेको हुन सक्ने गजुरेलको तर्क छ। ‘तर, बजार अझै १००–१५० अंक बढ्ने ठाउँ रहेको छ’, उनले भने, ‘त्यसैले मुख्य भनेको मौद्रिक नीति नै हो।’

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ।

आज उत्पादन तथा प्रशोधन समूह १.०१ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूहमा ०.६५ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २.७७ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २.६५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा २.०५ प्रतिशत, वित्त समूहमा २.४२ प्रतिशत, जलविद्युत समूहमा ०.३८ प्रतिशत, लगानी समूहमा ०.३४ प्रतिशत, जीवन बीमा समूहमा १.८९ प्रतिशत, लघुवित्त समूहमा ०.९१ प्रतिशत, अन्य समूहमा १.२८ प्रतिशत र व्यापार समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका ७० लाख ५० हजार ३९ कित्ता २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँबराबरको कारोबार भएको छ। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक २१ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ९ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको ८ करोड ८६ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ८ करोड ३८ लाख रुपैयाँ, निफ्राको ७ करोड ८८ लाख रुपैयाँ, नागरिक लगानी कोषको ७ करोड ६० लाख रुपैयाँ? हिमालयन डिस्टिलरीको ६ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड ५८ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। युनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। 

यो दिन हिमालय ऊर्जाका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।