काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । 

निजी क्षेत्रका उद्योगी व्यवसायीलाई झै यसपटकको बजेटले सेयर बजारमा लगानी गरेकाहरुलाई पनि कुनै न कुनै राहात प्याकेज ल्याउने अपेक्षा थियो लगानीकर्ताको । तर, बजेटले सेयर बजारलाई औपचारिकताका लागि मात्र सम्बोधन गरेको जस्तो देखियो, लगानीकर्ताका लागि बजेट खुशी भन्दा पनि निराशाका जड बन्न पुग्यो । 

नेपालको सेयर बजारमा सक्रिय लगानीकर्ताका विभिन्न संगठनका नेताहरुलाई पनि बजेटले खासै खुशी बनाउन नसकेको देखिएको छ । बिजशालासँग कुरा गर्दै उनीहरुले बजेटले सेयरमा लगानी गर्नेहरुको पीडा बिर्सिएको बताए । 

अरु क्षेत्रका लगानीकर्तालाई राहातका अनेकन प्याकेज आउँदा सेयर बजारका लगानीकर्ता भने उपेक्षित बनेका उनीहरुको धारणा छ । हेरौं कुन नेताले के भने ? 

छोटेलाल रौनियार(अध्यक्ष)-नेपाल इन्भेष्टर्स फोरम 
हामी लगानीकर्ताले चिताएको र मनको कुुराहरु यो बजेटले समावेश गर्न सकेन । यद्यपि बजार सुधार र पुुर्नसंरचनाको विषय भने मलाई राम्रो लाग्यो । पूूँजीगत लाभकरका विषयलाई अन्तिम कर वा लगानीको समयका आधारमा करकटौती गर्ने प्रावधान नभएकोमा चिन्तित छु ।ु सम्भवतः अनुुसूूचीमा पो समावेश छ कि आशा गरौं ।

उत्तम अर्याल(अध्यक्ष)-सेयर लगानीकर्ता संघ
हाल संचालनमा रहेका बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिन (मर्ज) लाई प्रोत्साहन गरिने सम्बोधनले बजारमा सकारात्मक प्रभाव पार्ने छ । सहुलियत पुर्ण कर्जामा ५ प्रतिशत व्याजले बैंकहरूले लगानी गरेका क्षेत्रहरू थप चलायमान भई आर्थिक कारोवार नै सकारात्मक हुन सक्नेछ । बैंक तथा वित्तीय संस्थाहरूले बाह्य ऋण ल्याउन पाउने व्यवस्थाले तरलता व्यवस्थापन गर्न थप सहज हुनेछ भन्ने पुँजीबजारमा वर्षौं देखि माग गरिंदै आएको स्टक डिलरको व्यवस्थाले माग र आपूर्तिको सन्तुलन कायम भई अनावश्यक रूपमा हुने उतारचढावलाई नियन्त्रण गर्न सहयोग पुग्नेछ । समग्रमा बैंक तथा वित्तीय संस्थामा विद्यूतीय भुक्तानी प्रणाली, हेज फण्डको व्यवस्था, वस्तु विनिमय कम्पनीको स्थापना जस्ता कार्यले लगानीकर्ताहरूको लगानीको विविधिकरण र लगानी क्षेत्र व्यवस्थित र विश्वासिलो हुने हुँदा यस क्षेत्रमा नयाँ लगानीकर्ताहरू आकर्षित हुन सक्नेछन । करदाताले अनलाईनमार्फत कर चुक्ताको प्रमाण पत्र लिन पाउने व्यवस्था गरिएको छ । शेयर बजारमा विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने कुरा बताइएको छ ।

पुँजिवजारको आवश्यकतालाई सरकारले महसूस गर्दै नेपालको पानी जनताको लगानीलाई निरन्तरता दिएको छ, जसले गर्दा पुँजिवजारमा नयाँ लगानीकर्ताहरूको प्रवेश हुने अनुमान गर्न सकिन्छ । आगामी आ.व.बाट ऋणपत्रको दोस्रो बजारमा हुने कारोबारलाई प्राथमिकतामा राख्ने र आगामी आ.व.स्टक डिलर सञ्चालनमा आउने र बस्तु् विनिमय बजारको व्यवस्था गर्ने, नेप्से, सेबोन र सिडिएससीको संरचनागत सुधार गर्ने जस्ता कुराहरू सकारात्मक छन ।

राधा पोखरेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ
सेयर बजारका लागि आगामी आबको बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने झै भएको छ । आगामी आ बदेखि डिलर शिपको ब्यबस्था गरेको भन्दा बाहेक एउटा पनि पूँजी बजारको बिकास र बिस्तारका लागि कार्यक्रम यो बजेटमा नपरेको देखिन्छ । विद्युतीय कारोबारको दायरा बिस्तार गरिने भन्ने चालु आबमै भएको व्यवस्थाका लागि थप समय खर्चेको जस्तो लाग्यो । खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित हुने देखिएन । त्यसैले यो बजेट मलाई महत्वकांक्षी छ भन्ने लाग्छ ।

कम्तीमा केही महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात्  आर्थिक प्याकेज घोषणा गरेर यस बजेटले शेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामी आशावादी रहेको थियौं । हाम्रो अपेक्षा अनुरुपको सेयर बजारलाई प्राथमिकतामा राख्न त सकिएको छैन । 

देशको अबस्था र हामी कोरोनाबिरुद्ध जुधिरहेको भएर पुनरउत्थान र ब्यवस्थापन गर्ने भएकाले स्वास्थ क्षेत्र र कृषिमा बढी जोड दिएको देखिन्छ । ्

हरि ढकाल(अध्यक्ष)-लगानीकर्ता दबाब समूूह
पूूँजीबजारका लगानीकर्ताका लागि यो बजेट निकै निराशाजनक छ । अर्थतन्त्र सबल नहुुनुुमा कोभिड १९ लाई दोष दिइएर भाग्ने चेष्टा भयो ।

संरक्षणा चौधरी(अध्यक्ष)-नेपाल पूँजीबजार संघ
नहुनु मामाभन्दा कानो मामा जाती भने झै लाग्यो यसपालि को बजेट । पूँजीबजारको दायरा फराकिलो बनाउने भनिएको छ, स्पष्टता चाहि भएन । स्टक डिलरको कुरा नयाँ होइन । कारोबार पूर्ण अनलाइन भनिएको छ, त्यो पनि पुरानै कुरा भयो । धितोपत्र बोर्ड, नेप्से र सिडिएससीको पुनरसंरचना गर्ने भनिएको कुरा चाहि नयाँ लाग्यो । सूचिकृत कम्पनीहरुको कारोबार गर्न त हम्मे हम्मे भएको अवस्थामा ऋणपत्रको दोस्रो बजारमा कारोबार गराउने कुरामा अझै स्पष्टता हुन सकेन । लगानीकर्तालाई राहातको कुरा नै आएन । कागलाई बेल पाक्यो, हर्ष न बिस्मात जस्तो भयो ।