काठमाण्डौ । नेपालको बैंकिङ उद्योगले नै लामो समयसम्म प्रतिक्षा गरेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरको प्रारम्भिक सम्झौता बढीमा अबको १० दिनभित्र गर्ने तयारी थालिएको छ । 

हिमालयन बैंकस्थित उच्च स्रोतकाअनुसार सेयर स्वाप रेसियो, कर्मचारी समायोजन लगायतका जटिल विषयहरुमा मोटामोटी सहमति भइसकेको छ । विदेशी साझेदारको रुपमा रहेका लगानीकर्ताहरुको लगानी तथा त्यसको व्यवस्थापन लगायतका केही पेचिला विषयमा सहमति हुन बाँकी नै छ । तर, सबै पक्ष हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जरको पक्षमा देखिएकाले मर्जरका लागि एमओयूको ड्राफ्ट तयार गरिएको छ । 

'हिमालयन बैंकले नै एमओयूको ड्राफ्ट  तयार गर्ने काम गरेको छ ।' स्रोतले भन्यो-'शुक्रबारसम्म ड्राफ्ट  सम्पूर्ण रुपले तयार भइसक्नेछ र ढिलोमा पनि अबको १० दिनभित्र हामी एमओयूमा हस्ताक्षर गर्नेछौं ।' 

हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने तयारीका क्रममा बीचको केही समय डिस्टर्ब भएको बताएको थियो । इन्भेष्टमेन्ट बैंक मर्जरका लागि छिटो सहमति गर्ने पक्षमा रहेको, तर आफूहरु केही पर्खिने अवस्थामा रहेको भन्दै हिमालयनले मर्जरको प्रयासमा खटपट आएको संकेत गरेको थियो । तर, दुवै बैंकका ठूला लगानीकर्ता एकाघरका सदस्य रहेकोले खटपटको अवस्था पारिवारिक छलफलबाट समाधान गरिएको थियो । योसँगै डिडिए रिपोर्ट समेत आएपछि दुवै बैंक १ बराबर १ को सेयर स्वाप रेसियोमा एकअर्कासँग मिल्न तयार भएका हुन् । 

डिडिए सकिएसँगै इन्भेष्टमेन्ट बैंकले तत्काल एमओयू गर्नका लागि जोड गरिरहेको समेत हिमालयन बैंकका एक संचालकले बताए । 'तर हामीले एमओयूको ड्राफ्ट तयार गरिसकेपछि पनि सबै संचालकहरुको सहमति लिनुपर्छ ।' उनले भने-'पाकिस्तानको हबिब बैंकबाट प्रतिनिधित्व गर्ने संचालक यहाँ हुनुहुन्न, त्यसकारण हाम्रोतर्फबाट केही ढिलो हुनसक्छ । तर, जति नै ढिलो भए पनि अबको १० दिनभित्रमा एमओयू गर्ने गरी हामी अगाडि बढेका छौं ।'