काठमाण्डौ । भारतको अटो उत्पादन कम्पनी महिन्द्रा एण्ड महिन्द्राले जनवरीदेखि आफ्ना कारहरुको मूल्य २६ हजार ५ सय भारुसम्म बढाउने योजना बनाएको मिडिया रिपोर्टहरुमा जनाइएकोछ । 

गाडी निर्माणका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा भएको बढोत्तरीसँगै कम्पनीले यस्तो निर्णय लिने भएको हो । 

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका प्रवीण शाहलाई उद्धृत गर्दै भारतीय मिडियाहरुमा बताइए अनुसार अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि नै महिन्द्राका बाहनको मूल्यमा ०.५ प्रतिशतदेखि १.१ सम्मको बढोत्तरीको योजना रहेको छ । यसको अर्थ भारतमा महिन्द्रा कम्पनीको सवारी साधनको मूल्यमा ३ हजारदेखि २६ हजार ५ सय भारुसम्म वृद्धि हुनेछ । 

उनलाई उद्धृत गर्दै भनिए अनुसार ३.५ टनसम्म क्षमताको साना व्यापारिक बाहनको मूल्यमा १५ सय भारुदेखि ६हजारसम्म वृद्धि गरिनेछ । उनका अनुसार धातु लगायत अन्य कच्चा पदार्थको मूल्यमा वृद्धि र ढुवानी खर्च समेत बढेपछि कम्पनीले गाडीको मूूल्य बढाउने निर्णय लिएको हो । 

यसअघि निशान, राइनो, टोयोटा, टाटा, मर्सिडिज जस्ता सवारी साधन उत्पादक तथा निर्यात कम्पनीहरुले समेत जनवरीदेखि गाडीको मूल्य बढाउने घोषणा गरिसकेका छन् ।