– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । पछिल्लोपटक करिब १८०६ को विन्दुलाई बटम बनाएको सेयर बजारमा फेरि गिरावट आउन थालेको छ। योसँगै लगानीकर्तामा अन्यौलता छाएको छ। 

विगतको इतिहास हेर्ने हो भने यो बेला बजार बढ्ने सिजन हो। यतिबेला धमाधम सूचीकृत कम्पनीहरुको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने र लाभांशको सिजन पनि सुरु हुने भएकोले बजार बढ्नेको विगतको ट्रेन्डले पनि देखाउँछ। 

बढ्ने सिजनमै बजार घटेपछि लगानीकर्ताहरुमा विभिन्न आशंका उब्जिएको छ। केही लगानीकर्ताले बजारको गिरावटलाई सुनियोजित पनि भनेका छन् भने केहीले बजार घट्नुमा आ–आफ्ना तर्क पेस गरेका छन्। 

बजारमा गिरावट आउनुमा एचआईडीसीएलको संस्थापक सेयरको लिलामी प्रक्रिया एउटा मुख्य कारण रहेको लगानीकर्ताहरु बताउँछन्। ‘एचआईडीसीएलको लिलामी सेयर उठाउनकै लागि पुँजी जुटाउन दोस्रो बजारबाट रकम निकाल्दा बजारमा दबाब सिर्जन भएको हो’, सक्रिय लगानीकर्ता टेकेन्द्र ढकाल भन्छन्। 

बजार घट्नुको अर्को कारण नबिल बैंक र एनबी बैंकबीच मर्जलाई पनि लिइएको छ। ‘मर्जपछि एनबी बैंकको सेयर नबिलको नाममा आएपछि एनबीका लगानीकर्ताले नाफा बुक गर्न धमाधम सेयर बेच्ने थाले, सोही कारण बजारमा बिक्रीचाप पर्यो’, ढकाल भन्छन्, ‘यसअघि गरिमा बैंक र सहारा विकास बैंक मर्ज भएर आउँदा पनि यस्तै बिक्रीचाप परेको थियो।’ 

नेपाल टेलिकमको बोनस सेयर र शिवम् सिमेन्टको प्रमोटर सेयर नेप्सेमा सूचीकृत हुनुले बजार घटेको बताइएको छ। दोस्रो बजारमा नेपाल टेलिकमको बजार पुँजीकरण हिस्सा ठूलो रहेको र अहिले बोनसको सेयर दोस्रो बजारमा आउँदा पनि बजारमा गिरावट आएको अर्का एक लगानीकर्ताले बताए। 

सेयर स्वामित्व परिमार्जनका क्रममा नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणमा परिणत हुँदा पनि बजारमा बिक्रीचाप परेको बजार जानकारहरु बताउँछन्। ‘यो कम्पनीको पनि ठूलै बजार पुँजीकरण छ। संस्थापक सेयर सर्वसाधारणमा परिणत हुँदा बजारमा बिक्रीचाप बढ्यो’, एक बजार जानकारले भने। 

केही लगानीकर्ताहरु भने ४–१२ को बाँकी रहेको सेयर लोन तिर्न भदौ ८ गतेसम्म अन्तिम समय भएका कारण पनि ठूला लगानीकर्ताहरु सेटलमेन्टतिर लागेको हुन सक्ने आशंका गरेका छन्। ‘केही ठूला ऋणीहरुले असारमा कागजी रुपमा हिसाब मिलाएको र साउनमा सेयर बेचेर हिसाब मिलाउँदा बजार खसेको हो’, अर्का एक बजार जानकारी भन्छन्। 

अहिले धेरै लगानीकर्ता प्राविधिक चार्ट हेरेर कारोबार गर्ने गरेका छन्। ‘बजारमा धेरै अल्पकालीन ट्रेडर छन् र प्राविधिक चार्ट हेरेर लगानी गर्दा त्यसको नकारात्मक प्रभाव बजारमा परेको देखिन्छ’, एक लगानीकर्ताले भने।