काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंकको ब्याजदर अब थप नबढ्ने र बढ्न नदिने गरी काम गरिने प्रतिबद्धता जनाएको छ । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकका अधिकारीहरुले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । 

राष्ट्रबैंकको अनुसन्धान विभागका प्रमुख डा. प्रकाश श्रेष्ठले ब्याजदर थप नबढोस् भनेर नै बैंकहरुको स्प्रेड दरलाई घटाइएको र सीडी रेसियो सम्बन्धी व्यवस्थामा समेत लचकता अपनाइएको दाबी गरे । 

ब्याजदर नबढोस् भनेर नै राष्ट्रबैंकले स्प्रेड दर सम्बन्धी व्यवस्थामा संसोधन गरेको उनले प्रष्ट पारे । 

‘स्प्रेड दर घट्दा बैंकहरुले राख्ने मार्जिन कम हुन्छ । स्प्रेड दरको नयाँ व्यवस्थाका कारण पनि बैंक ब्याजदर केही न केही घट्छ ।’ डा. श्रेष्ठले भने–‘अहिले उद्योग व्यवसायमा पर्नसक्ने नकारात्मक प्रभावलाई कम गर्न यस्तो व्यवस्था गरिएको छ । स्प्रेड दर घटाएर राष्ट्रबैंकले पनि बैंकहरुको नाफा घट्नुपर्छ भन्न चाहिँ खोजेको होइन ।' 

उनले अर्थतन्त्रका धेरै सूचकहरुमा सुधार आइरहेकोले पनि अब बैंक ब्याजदर माथि नजाने दाबी गरे । ‘जति बढ्नु थियो बढिसक्यो, अब ब्याजदर बढ्दैन ।’ उनले भने–‘मौद्रिक नीतिको समीक्षाले वाणिज्य बैंकहरुलाई पनि ब्याजदर अब माथि नलैजान प्रष्ट रुपमा निर्देशन दिएको अवस्था हो ।’ 

उनले मौद्रिक नीतिले सीडी रेसियोमा लचिलो हुने संकेत गरेको उल्लेख गर्दै नेट लिक्वीड एसेज(एनएलए) राम्रो अवस्थामा भएको बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि पुगेको अवस्थामा राष्ट्रबैंकले त्यस्ता बैंकलाई जरीवाना नलगाउने व्यवस्था गरेको बताए । ‘तर एनएलए कति हुँदा सीडी रेसियो सम्बन्धी व्यवस्था ब्रीच हुँदा कारबाही गर्ने भन्ने विषय सर्कुलरमार्फत ल्याउँछौं ।’ डा. श्रेष्ठले थपे ।

सीडी रेसियोमा साबिकको व्यवस्थाको तुलनामा लचक हुँदा त्यसले समेत तरलताको समस्या समाधान गरी ब्याजदर बढ्न नदिने केन्द्रीय बैंकको विश्लेषण छ । 

यस सम्बन्धी मौद्रिक नीतिको ५६ नम्बरमा व्यवस्था गरिएको छ । त्यहाँ भनिएको छ–‘तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिनेछ ।’