काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । 

आज राति १२ बजेदेखि लागू हुने गरी पेटोल, डिजेल र मट्टितेलको साबिकको मूल्य प्रतिलिटरमा रु. ३ ले बढाइएको हो । 

योसँगै पेटोल, डिजेल र मट्टितेलको नयाँ मूल्य क्रमशः १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ । 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । 

इण्डियन आयल कर्पोरेसन लिमीटेडबाट फेब्रुअरी १ मा प्राप्त भएको नयाँ मूल्यसूची बढेर आएको र सोबमोजिम पेटोलमा ८ रुपैयाँ १ पैसा, डिजेलमा प्रतिलिटर ७.९८ रुपैयाँ र मट्टितेलमा ४.६१ रुपैयाँ तथा हवाई इन्धनमा ७.८० रुपैयाँ प्रतिलिटरमा बढेर आएको तथा एलपी ग्यासमा भने केही घटेर आएको निगमले जनाएको छ । 

समग्र फेब्रुअरी १ देखि १५ सम्मको अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनले मूल्य समायोजनको निर्णय गरेको बताइएको छ । 

मूल्य बढाउँदा पनि निगमले नेपाल सरकारको ऋण र आइओसीलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता भुक्तान गरी करिब १६ अर्ब ३० करोड तिर्न बाँकी रहेको अवस्थामा समेत आम उपभोक्तालाई राहात दिन धेरै मूल्य नबढाइएको निगमको दाबी छ ।