काठमाण्डौ। गत आर्थिक वर्ष २०७६/७७ को बम्पर लाभांश पारित गर्न नबिल बैंक लिमिटेडले आफ्नो ३६ औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभा यही पुस २९ गते बुधबार डोकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्न गाभिन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्न, गाभ्ने गाभिने वा प्राप्ति गर्नेसम्बनधी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जानेसम्बन्धी निर्णय गर्न तथा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। बैंकको अधिकृत पुँजी वृद्धि १४ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र बैंकद्वारा प्रस्तावित लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।