काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश घोषणा गरेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सोमबार एकाएक चमक आएको छ ।

कारोबार दोस्रो दिन सोमबार संस्थाको सेयरमूल्यमा प्रतिकित्ता ७५ रुपैयाँले बढेको छ । झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर संस्थाको सेयर प्रतिकित्ता ८३० रुपैयाँ पुगेको छ ।

संस्थाको सेयर हिजो आइतबार प्रतिकित्ता अन्तिम सेयरमूल्य ७५५ रुपैयाँ थियो ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तपुँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँको ३५ प्रतिशतले हुना आउने ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर वितरण गर्दा लाग्ने करबापतको २० लाख ३४ हजार ७४३.४२ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ९ गते लमजुङको बेसीसहरस्थित गेट वे हिमालयन रिसोर्टमा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको लाभांश पारित हुनेछ ।

सेयरमूल्यमा एकाएक चमक आए पनि संस्थाको सेयर खरिद गर्नेको चाप अत्याधिक देखिएको छ । मार्केट डेप्थमा यो समाचार तयार पार्दासम्म ५ हजार ७ कित्ता सेयर खरिद पोस्ट भएको छ । उता बिक्रीतर्फ भने एउटा पनि पोस्ट भएको छ ।