काठमाण्डौ । बराबरी हैसियत नपाएपछि सहारा विकास बैंकले तत्कालीन देवः विकास बैंकसँग प्राप्तिमा जाने प्रक्रिया भाँड्यो। गत असोजमा फेरि सहारा विकास बैंकले गरिमा विकास बैंकसँग प्राप्तिमा जाने प्रारम्भिक सम्झौता गरेको छ। तर सहाराले बराबरीको हैसियतमा विलय हुने अडान भने यथावतै राखेको छ। 

झन्डै ३ वर्षअघि सहाराले तत्कालीन देवः विकास बैंकसँग प्राप्तिमा जाने प्रारम्भिक सम्झौता गरेको थियो। त्यति नै बेलादेखि सहाराको सेयर कारोबार नेप्सेले धितोपत्र दोस्रो बजारमा रोक्का राखेको छ। अहिले पनि प्राप्तिकै रनभुल्लमा रहेको यो बैंकको प्राप्ति प्रक्रिया पूरा हुने वा नहुने भने अन्यौलै छ। जसका कारण आमलगानीकर्ता पनि द्विविधामा छन्। 

सहारा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दयाकान्त साहले गरिमासँग १ः१ सेयर स्वापमा प्राप्तिमा जाने प्रारम्भिक सम्झौता गरेको दाबी गरे। ‘हामी हाम्रा लगानीकर्ताको हितमा छौँ र अधिकतम हित हुने काम नै गर्छौं’, उनले भने, ‘अबको एक हप्ताभित्रमा डीडीए रिपोर्ट आउने र आगामी आर्थिक मसान्तभित्रमा धितोपत्र कारोबार खुल्नेछ।’

यो बैंकका सेयरधनीहरु लामो समयदेखि धितोपत्र कारोबार रोक्का हुँदा सेयर किनबेच गर्नबाट वञ्चित छन्। 

उता नियामक निकाय र नेपाल राष्ट्र बैंक पनि सहाराको प्राप्तिमा जाने नीतिमा मूकदर्शकमात्रै बनेका छन्। अस्पष्ट मर्जर तथा प्राप्ति नीति, मर्जरको समयसीमा नहुनु, जतिपल्ट पनि मर्जर वा प्राप्ति भाँड्न पाउनु तथा राष्ट्र बैंकले सेयर स्वाप अनुपात मिलाउन जोडबल नगर्नु अहिलेका मर्जर तथा प्राप्तिका विकृति रहेको लगानीकर्ता गंगाप्रसाद शर्मा बताउँछन्। ‘लगानीकर्ता वर्षौंदेखि पीडित छन्’, उनले भने, ‘न प्रतिफल नै पाएका छन् न कारोबार नै गर्न पाएका छन्। यो नियामक निकाय र राष्ट्र बैंककै कमजोरी हो।’