काठमाण्डौ । बरुण इन्भेस्टमेन्ट लिमिटेडले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ। 

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ। काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच कम्पनी र क्यापिटलबीच सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा बरुण इन्भेस्टमेन्टका तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्। 

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीका रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिस्टर्ड कार्यालय रहेको बरुण इन्भेस्टमेन्टको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ। संस्थापक समुहको ७७ प्रतिशत सेयर रहेको कम्पनीमा १७ जना संस्थापक सेयरधनीहरुबाट ४० करोडबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ। 

कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको कम्पनी विशेषगरी ऊर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ। कम्पनीमा एसजी ग्रुप मुख्य लगानीकर्ताका रुपमा रहेको छ। 

बरुण इन्भेस्टमेन्टले बझाङस्थित कलंगा हाइड्रो (१५.३३ मेगावाट), सानीगाड हाइड्रो (३८. ४७ मेगावाट) र बुंगल हाइड्रो (१०.७० मेगावाट) गरी ३ हाइड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको छ। 

हालै बरुण इन्भेस्टमेन्टले संखुवा खोलामा हाइड्रो प्रवर्द्धन र गुराँस हाइड्रो प्रालि (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ। 

बरुण इन्भेस्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटलले निकट भविष्यमा आईपीओ ल्याउने हिसाबले तयारी अगाडि बढाएका छन्। बरुण इन्भेस्टमेन्टले भविष्यमा अरु पनि थप हाइड्रो पावर, होटेल, कृषिलगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको एसजी ग्रुपका अध्यक्ष तथा कम्पनीका संस्थापक अध्यक्ष शिवप्रसाद घिमिरे बताउँछन्। बरुण इन्भेस्टमेन्टमा मुख्य लगानीकर्ताका रुपमा रहेको एसजी ग्रुपको एलपीजी ग्यास बोटलिङ, पेट्रोलियम पदार्थ वितरण, अटोमोबाइल, चिया प्रशोधन, निर्माण व्यवसाय, बैंकिङलगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ।