काठमाण्डौ । भेनेजुएलाको नाम सुन्नुभएको होला। एउटा सुन्दर देश। दक्षिण अमेरिकी प्रान्तको यो देशको सम्पत्तिको चर्चा टाढा–टाढा हुने गथ्र्यो। अमेरिका पनि यो देशको तेल भण्डार देखेर अत्तालिएको थियो। तर, राजनीतिक द्वन्द्वका कारण सबै बिग्रियो। उच्च महँगीले विनाशबाहेक अरु केही हात परेन। 

भेनेजुएलासँग अहिले पनि पैसा छ तर अवस्था पहिलेको जस्तो छैन। त्यहाँ एक कप कफीको पनि २५ लाख रुपैयाँ पर्छ। पानीको मूल्य तेलभन्दा बढी छ। 

उन्नाइसौँ शताब्दीतिरको कुरा हो। त्यसबेला भेनेजुएलामा स्पेनी शासन जारी थियो। सिमोन बोलिभरले स्वतन्त्रताको युद्धको नेतृत्व गरे र जुलाई ५, १८११ मा स्वतन्त्रता घोषणा गरे। भेनेजुएलाको आधिकारिक नाम बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला हो। त्यहाँको आधिकारिक भाषा स्पेनिस हो।

भेनेजुएलाको पश्चिममा कोलम्बिया, दक्षिणमा ब्राजिल, पूर्वमा गुयाना र उत्तरमा क्यारिबियन सागर छ भने उत्तरपूर्वमा एट्लान्टिक महासागर छ। यो देशमा प्राकृतिक तेलको विश्वको सबैभन्दा ठूलो भण्डार छ। त्यसबाहेक कोइला, फलाम, बक्साइट (एल्युमिनियम अयस्क) र सुनको प्रशस्त भण्डार छ। 
भेनेजुएलाको राजधानी कराकस हो। जनसंख्या ३ करोडभन्दा बढी छ।

सन् १८२१ मा सिमोन बोलिभरको नेतृत्वमा भेनेजुएला, कोलम्बिया, पानामा र इक्वेडरले मिलेर ग्रान कोलम्बिया गणतन्त्रको स्थापना गरे। स्पेनबाट आफूलाई स्वतन्त्र गराए। त्यसपछि भेनेजुएला १९३० मा एउटा स्वतन्त्र राष्ट्र भयो। त्यसपछि भेनेजुएलामा धेरैजसो सैन्य शासन थियो। सैनिक शासन हुँदाहुँदै पनि यहाँ सामाजिक सुधार र लोककल्याणका कार्यक्रम पनि लागू भएका थिए। सन् १९५९ देखि त्यहाँ प्रजातन्त्रको सुरुआत भएको थियो।

भेनेजुएलाको सबैभन्दा ठूलो शक्ति त्यहाँ पाइने प्रशस्त खनिज सम्पदा नै हो। विश्वको सबैभन्दा ठूलो तेल भण्डार त्यहाँ छ। जनताको अवस्था जस्तोसुकै भए पनि तेलको व्यापारका कारण त्यहाँको आर्थिक अवस्था सधैं राम्रो रहेको छ। यही आर्थिक बलका आधारमा जनताको यत्रो विरोधपछि पनि राष्ट्रपति मादुरो सत्ताबाट हटेका छैनन्। 

त्यहाँ प्रचुर मात्रामा प्राकृतिक सम्पदाका कारण यस ठाउँमा सारा विश्वको नजर छ। त्यहाँका प्रमुख उद्योगहरुमा पेट्रोलियम, खाद्य प्रशोधन, आल्मुनियम, फलाम, सुनजस्ता बहुमूल्य धातु र कपडा उद्योग पर्दछन्। यसबाहेक कृषिमा मकै, ज्वार, उखु, धान, केरा, तरकारी, कफी, माछा, अण्डा आदिले त्यहाँको खाद्य प्रशोधन उद्योगमा योगदान पुर्याइरहेको छ। केही समययता कृषि उत्पादनको ठूलो अभाव छ।

केही वर्ष अघिसम्म दक्षिण अमेरिकी महादेशको उत्तरमा अवस्थित भेनेजुएलाको नाम आउँदा कच्चा तेलको धनी निर्यातकको छवि दिमागमा आउँथ्यो। तर, समय बदलियो र परिस्थिति एकदमै फरक भयो। अहिले त्यहाँ अराजकता छ। मानिसहरु खानाका लागि लालायित छन्। सरकार, सेना र शक्तिशाली जनता देशमाथिको आफ्नो पकड छाड्न तयार छैनन्। आधाभन्दा बढी विश्वलाई आफ्नो शत्रु बनाएको छ। प्राकृतिक स्रोतसाधनले धनी भए पनि आज यो देशमा गरिबी चरम सीमामा छ। अत्यावश्यक वस्तुको भाउ आकासिएको छ।

भेनेजुएलाको स्वर्णयुग सन् १९९९ मा हुगो चाभेजको नेतृत्वमा सुरु भयो। जो २०१३ सम्म सत्तामा रहे। यस अवधिमा देशमा प्रजातन्त्र नआएको भए पनि उनको शासन अवश्य लोकप्रिय थियो। यो अवधिमा भेनेजुएलामा ठूलो आर्थिक वृद्धि भएको थियो। यस अवधिमा चाभेजले अमेरिकालगायत विश्वका अन्य प्रमुख देशहरुलाई आफ्नो शत्रु बनाए पनि आफ्नै देशमा उनको लोकप्रियता घटेन। उनी त्यहाँका जनताका लागि भगवान बने। 

चाभेजले आफ्नो उत्तराधिकारी निकोलस मादुरोको शासन सम्हालेपछि देशको अवस्था बिग्रन थाल्यो। सबैभन्दा पहिले आमजनताको समस्या बढ्न थाल्यो। जो महँगीका कारण हैरान हुन थाले। मदुरोले सरकारी संस्थाहरुमा आफ्नो नियन्त्रण बढाए र अहिले देशमा अभिव्यक्ति स्वतन्त्रतामा ठूलो ह्रास आएको छ।

भेनेजुएलामा लाखौँ मानिसले देश छाडेका छन्। महँगी हजारौँ गुणा बढेको छ। अर्थतन्त्र डुब्ने अवस्थामा पुगेको छ। जनतासँग खानेकुरा छैन। जनताले राष्ट्रपति निकोलस मादुरो र उनको सरकारलाई अर्थतन्त्र महामन्दीबाट गुज्रिरहेको र यी डरलाग्दो अवस्थाका लागि दोषारोपण गरिरहेका छन्। 

भेनेजुएलाको राष्ट्रियसभाका अनुसार अत्यावश्यक वस्तुको मूल्य हरेक २६ दिनमा औसतमा दोब्बर हुँदैछ। गत वर्षसम्म वार्षिक मुद्रास्फीति ८३ हजार प्रतिशत पुगेको छ। यही कारणले गर्दा जुएलाका जनतालाई खाना र पेयपदार्थ धान्न तथा अत्यावश्यक वस्तु किन्न गाह्रो भएको छ। 

उच्च मुद्रास्फीति यति हावी भएको छ कि भेनेजुएलामा एक कप कफीको मूल्य २५ लाख रुपैयाँ पुगेको छ। मानिसहरु कुनै पनि सामानका लागि नगदमा पैसा तिर्न सक्षम छैनन्।

भेनेजुएलामा ठूलो संख्यामा तेलको भण्डार छ। तर, यही भण्डार क्षमता देशको धेरै आर्थिक समस्याको मुख्य कारण पनि बनेको बताइएको छ। 

भेनेजुएलाको अर्थतन्त्र तेलमा धेरै निर्भर छ। यसको निर्यातको ९५ प्रतिशत तेलबाट हुने राजस्व हो। तेलको प्रचुर मात्रामा उत्पादन र निकासीका कारण यसले ठूलो मात्रामा डलर प्राप्त गर्दै आएको छ, जसबाट विदेशबाट आफ्ना जनताका लागि अत्यावश्यक वस्तु किन्ने गरेको छ। तर, सन् २०१४ मा तेलको मूल्य घटेपछि विदेशी मुद्रा पनि घट्न थालेपछि समस्या सुरु भयो। 

देशमा विदेशी मुद्राको आगमनका कारण भेनेजुएलालाई विगतको परिमाणमा विदेशबाट सामान आयात गर्न गाह्रो भए पनि जनताको माग र आवश्यकता पहिलेको जस्तै रह्यो। त्यसपछि माग र आपूर्तिबीचको यो अन्तर यति बढ्यो कि महँगी चरम सीमामा पुगेको छ। त्यसलाई सम्बोधन गर्न सरकारले अतिरिक्त मुद्रा छाप्ने र गरिबको न्यूनतम पारिश्रमिक बढाउने काम गर्दा पनि समस्या बढेको छ। 

तीव्र गतिमा मूल्य घट्दै गएको मुद्रा जनताको हातमा आयो। कतिपय सरकारी ऋणपत्र चुक्ता भएकाले सरकार पनि ऋणको चपेटामा परेको छ।

भेनेजुएलाको अवस्था पनि बिग्रियो किनभने यहाँका सरकारहरूले भोटका लागि जनतालाई निःशुल्क योजनाको फाइदा दिन थालेका छन्। भेनेजुएलाका जनताले समाजवादी पार्टीका नेता ह्युगो चाभेजलाई आफ्नो राष्ट्रपतिमा निर्वाचित गरेपछि अवस्था बिग्रियो। भेनेजुएलाले विश्वलाई तेल बेचेर जति पैसा पाउँछ, त्यो पैसा त्यहाँका जनतामा खर्च गर्नुपर्छ भन्ने ह्युगो चाभेजको विश्वास थियो। राष्ट्रपति भएपछि उनले यो धनी देशका धनी जनताका लागि सबै सित्तैमा उपलब्ध गराए। यसमा पानी, बिजुली, विद्यालय शुल्कदेखि अस्पतालको उपचार र सार्वजनिक यातायात सबै निःशुल्क भएको छ। त्यसपछि देश बर्बाद हुँदै गयो।

विगत २० वर्षदेखि भेनेजुएलाको अर्थतन्त्र ध्वस्त हुन थालेको थियो। ठूलो मात्रामा राष्ट्रियकरण र नियमनले निजी क्षेत्रको अवस्था नाजुक बनाएको छ। भ्रष्टाचार यति हावी भएको छ कि अर्बौं रुपैयाँको हिसाब छैन। 

ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि भेनेजुएलालाई सबैभन्दा भ्रष्ट देशका रुपमा मानेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यहाँ आर्थिक संकट उत्पन्न भएको हो। त्यहाँ बिजुली र खाद्यान्नको आपूर्ति सीमित भएको छ। 

अमेरिका कुनै समय भेनेजुएलाको सबैभन्दा ठूलो तेल ग्राहक थियो। तर, सन् २०१८ मा अमेरिकाले भेनेजुएलामाथि नाकाबन्दी लगाएर आफूलाई एक्लो बनाएको मात्र होइन आफ्नो सबैभन्दा ठूलो आम्दानीको स्रोत पनि बन्द गरिदिएको छ। यसबाहेक अमेरिकाले तेल र अन्य उत्पादनको व्यापार गर्ने देशलाई जरिवाना लगाउने चेतावनी पनि दिएको छ। यसको पछाडि सबैभन्दा ठूलो कारण भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो हुन्। 

अमेरिकालगायत अन्य धेरै पश्चिमी देशहरुले निकोलस मादुरोको विरोध गरिरहेका छन्। उनलाई राष्ट्रपतिका रूपमा मान्यता दिएका छैनन्। प्रतिबन्धका कारण भेनेजुएलामा कच्चा तेलको उत्पादन लगातार घटिरहेको छ।

विपक्षी नेता जुआन गुआइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका छन्। यसका लागि उनलाई अन्तर्राष्ट्रियस्तरमा पनि ठूलो समर्थन मिलेको छ। उनलाई आफ्नो देशमा संसदको समर्थनबाहेक अमेरिकाको नेतृत्वमा युरोपियन युनियन, क्यानडा, ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, अष्ट्रेलिया र इजरायल जस्ता देश पनि पर्छन्। 

उता राष्ट्रपति मदुरोको समर्थनमा देशको सेना र विश्वका चीन, रुस, ग्रीसजस्ता देश सामेल छन्। –एजेन्सी