काठमाण्डौ । चार दशकको अथक प्रयासपछि अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बुधबार शिलान्यास भएको छ । वैदिक रितिअनुसार ब्रम्हणले स्वस्ती वाचन गरेपछि प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरे ।

प्रम ओलीले इँटा राखेर शिलान्यास गरेपछि सँगै रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले इँटा थपे ।

उद्घाटनपछि प्रम केपी ओलीले ४ वर्षभित्रै विमानस्थल तयार हुने प्रतिबद्धता व्यक्त गरे । उनले निर्माण कम्पनी कम्पनि चाइना सिएएमसीइसँग त्यो भन्दा छिटो काम सक्ने अपेक्षा लिएको बताए।

प्रधानमन्त्री ओलीले केरुङ देखि काठमाडौं, काठमाडौं देखि पोखरा र पोखरा लुम्विनी रेलमार्ग निर्माणमा पनि चीनले सहयोग गर्ने अपेक्षा राखे। प्रधानमन्त्री पोखरा विमानस्थल रेकर्डको लागि शिलन्यास नभएको बताए। ’यो रेकर्डको लागि शिलन्यास भएको होइन’, उनले भने, ’कामको लागि शिलन्यास भएको हो र यो सरकारले शिलन्यासको रेकर्डमा विश्वास राख्दैन।’

प्रधानमन्त्रीले विमानस्थलको शिलन्यास रनवेबाट भएको बताउँदै यो वर्ष विकासका कार्यक्रमहरु पनि जहाज दौडदाँ झै अघि बढ्ने भनाई व्यक्त गरे।

एमाओवादी अध्यक्ष दाहालले विमानस्थल शिलान्याससँगै चीनले नेपालमा रेलवे लाइन बिच्छ्याउन सुरु गर्ने बताए । 

कांग्रेस महामन्त्री कोइरालाले मुुलुक अब विकासको रफ्तारमा कुद्ने बताउँदै ५ वर्षभित्र कायापलट हुने बताए । फोरम लोकतान्त्रिकका गच्छदारले विकास नै नेपालीले चाहेको उल्लेख गर्दै तराई एक प्रदेश हुन नसक्ने ठोकुवा गरे ।

सोही क्रममा नेकपा एमालेका नेता झलनाथ खनालले विमानस्थल निर्माण सम्पन्न भएपछि पोखरामा १० गुणा पर्यटक बढ्ने दाबी गरे । 

वि.सं. २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिए पनि विभिन्न कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन ।

कस्तो बन्ला विमानस्थल ?
विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने अनुमान छ । चाहिनेजति रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति भइसकेको छ ।

चार दशकअघि पोखरा–१४, १५ र १८ वडाका ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुग्ने देखिएपछि थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

चीनले ऋणको २५ प्रतिशत निब्र्याजी र बाँकी ७५ प्रतिशत रकम दुई प्रतिशत ब्याजदरमा उपलब्ध गराउने सहमति भइसकेको छ । निब्र्याजी रकमपछि अनुदानमा परिणत हुनसक्ने आयोजनाको आशा छ ।

पोखरामा विमानस्थल बनाउन करिब दुई वर्षअघि चिनियाँ कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । प्राधिकरण र सिएएमसिइबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्रा्ष्ट्रिय नागरिक उड्डययन अर्गनाइजेसन)को मापदण्ड अनुसार ’फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

इपिसी मोडलमा बन्ने भएकाले ठेकेदारले चार वर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ । फोरडी विमानस्थलबाट बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उडान गर्न सक्नेछन् । २५ सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग हुने विमानस्थलमा एकपटकमा आधा दर्जनभन्दा बढी ठूला जहाज पार्किङ गर्न मिल्नेछ।