बहराइन । बहराइनमा एकैपटक शुक्रबार ९ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । 

यसअघि त्यहाँका ३ नेपालीमा कोभिड १९ को संक्रमण भएको थियो । 

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । उनका अनुसार त्यहाँको सल्मावाद स्थित एक क्याम्पमा कार्यरत कामदारहरुमा कोरोना संक्रमण फैलिएको थियो । सो क्याम्पमा ४ सय जना बस्ने गरेका छन् । सो क्याम्पमा ठूलो संख्यामा नेपाली समेत रहेका र सबैर्ला क्याम्पमै क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए । क्वारेन्टाइनमै रहेको अवस्थामा भएको स्वास्थ्य जाँचमा ९ जना नेपालीलाई एकैपटक कोरोना संक्रमण फेला परेको सुन्दासले जनाएका छन् । 

बहराइनमा हालसम्म कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाइसकेका छन् । यहाँका करिब ७०० मा कोरोना संक्रमण फेला परिसकेको छ । 

उता, भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा पनि कोरोना संक्रमण देखिएको छ । सो भेलामा सहभागी भएका पर्साका ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको भारतीय मिडियाहरुले जनाएका छन् ।  उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए । कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ। र, उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 

नमूना परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना संक्रमण नदेखिएको बताइएको छ । अम्बाला पुगेका अन्य ६ जना नेपालीको भने परीक्षण हुन बाँकी छ।