काठमाण्डौ । अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडनले पद बहाल गरेको १०० दिनभित्र अध्यागमनलगायत थुप्रै नीतिमा हेरफेर गर्ने भएका छन्। 

बाइडनले अध्यागमनसहित जलवायु परिर्वतन, विश्व स्वास्थ्य संगठन तथा कोरोनाभाइरससम्बन्धी राहत प्याकेज आगामी १० दिनभित्रै जारी हुने आदेशमा समावेश गर्नेछन्। उनले हाल अमेरिकामा बिनाकागज बसेका १ करोड १० लाखभन्दा बढी कागजपत्रविहीन आप्रावासीका लागि नागरिकता प्राप्त गर्ने बाटो खुल्ने गरी मस्यौदा गरिएको कानुन कांग्रेसमा पठाउनेछन्। यससँगै अमेरिकामा गैरकानुनी रुपमा बसेका आप्रवासीलाई ठूलो राहात मिल्ने भएको छ। 

यसअघि अमेरिकामा गैरआप्रवासीलाई ठूलो धरपकड गरिन्थ्यो र जहाजै चार्टर्ड गरेर घर फिर्ता गर्ने गरिन्थ्यो। यसैसँगै अमेरिकाको दक्षिणी सीमामा आमाबाबुसँग छुटिएर बस्न बाध्य परिएका ५४५ बालबालिकालाई उनका बाबुआमालाई मिलाइदिने वाचा पनि बाइडनले गरेका छन्।

कर कटौतीको अन्त्य

बाइडनले ट्रम्पले लागू गरेको कर कटौतीलाई उल्ट्याइदिने वाचा गरेका छन। सन् २०१७ मा ट्रम्पले घोषणा गरेको धनी अमेरिकी तथा ठूला कम्पनीलाई मात्रै फाइदा पुग्ने कर नीतिलाई उल्टाइने भएको छ। 

बाइडनले कोरोना महामारीबाट पीडित कसैलाई पनि घरबाट निकाला गर्ने वा घर लिलामी गर्ने काम राष्ट्रव्यापी रोक लगाउनेसम्बन्धी निर्णय जारी गर्ने जनाएको छ। 

यसअघि बाइडनले गरिब तथा जागिर गुमाएका लागि १९ खर्ब डलरको राहात प्याकेज घाषण गरिसकेका छन्।