काठमाण्डौ । बागमती प्रदेशमा दर्ता भएका सबैखाले सवारीसाधनको कर तथा राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क अब इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ।

बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै  गर्न सकिने सेवाको सुरुआत भएको हो। योसँगै अब सवारीसाधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गई लामो लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ। दईपांग्रे, चारपांग्रे, ठ्ला तथा हेभी सावारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारीसाधनको कर, दर्ता र नवीकरण इसेवाबाटै गर्न सकिनेछ। 

इसेवा अकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलबाटै कर भुक्तानी, दर्ता र नवीकरण  गर्न सकिन्छ भने इसेवा अकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ। 

सवारी करको सेवा सुरूआतबारे इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले भने, ‘इसेवाले जहिले पनि आम मानिसको दैनिक जीवनलाई सहज बनाउने उदेश्य राखेको हुन्छ। सवारी कर अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुनेछ भन्ने हाम्रो विश्वास छ। हामीले अन्य प्रदेशमा पनि यो सेवा विस्तार गर्दै जानेछौँ।’

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब १ लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।