काठमाण्डौ । लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउनसक्ने बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट सञ्चालनमा ल्याएको छ। 

बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतूले अस्पतालले अलग्गै युनिट नै तयार गरी सञ्चालनमा ल्याएको हो। नर्भिक अस्पतालले बाढीपहिरोमा परी घाइते भएकाहरुका लागि सञ्चालनमा ल्याएको युनिटमा डेडिकेटेड शय्या, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिम नै तयार गरेको छ। यो टिमले अनवरत रुपमा बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचार गर्नेछ। 

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपका कारण हुनसक्ने मानवीय क्षतिलाई सकेसम्म कम गर्ने सरकारको उद्देश्यमा साथ दिँदै नर्भिकले डेडिकेटेड युनिट सञ्चालनमा ल्याएको हो। ‘यो युनिटमा बाढीपहिरोमा परी घाइते भएकाहरुको स्तरीय उपचार हुनेछ’, उनले भने, ‘बाढीपहिरोमा परी घाइते भएकाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हौँ।’ 

कोभिड १९ को दोश्रो लहरका कारण बन्द भएको नर्भिकको ओपीडी सेवा आइतबारदेखि सञ्चालनमा आइसकेको छ। यस्तै, अपरेसन थिएटरसमेत पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको छ।